तिहारमा देउसीभैलो खेलेर संकलन गरेको रकम सदुपयोग गर्दै वनभोज खान जानेहरूको चहलपहल बढेपछि बाँकेको खड्कवारमा आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ।


कोहलपुर नगरपालिका–१३ स्थित खड्कवार पार्क, सामुदायिक होमस्टे तथा चुरे फेदी क्षेत्रमा बिहानैदेखि युवायुवती, टोल विकास संस्था र आमा समूहहरू वनभोजका लागि पुग्ने गरेका छन्। विशेषगरी तिहारपछि देउसीभैलोबाट संकलित रकम खर्च गर्दै साथीभाइ र टोलछिमेकसँग रमाइलो गर्ने समूहको आगमन बढेको हो।
हरियाली जंगल, शान्त वातावरण र प्राकृतिक सुन्दरताले भरिएको खड्कवारमा नाचगान तथा खानपिन गर्दै रमाउनेहरूको चहलपहलले यतिबेला क्षेत्रको रौनक बढाएको छ। वनभोजका लागि आउनेहरूको संख्या बढेसँगै स्थानीय उत्पादन, परिकार तथा होमस्टे व्यवसायमा समेत चहलपहल बढेको छ।




























