गोरुसिङ्गे–चन्द्रौटा सडक विस्तारको ठेक्का सम्झौता, ३० महिनामा निर्माण सक्ने लक्ष्य
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड चार लेनमा स्तरोन्नति गर्न ठेक्का सम्झौता भएको छ । १९.२ किलोमिटर लामो सडक खण्ड विस्तारका लागि चिनियाँ कम्पनी चाइना एमसीसी १७ ग्रुप कम्पनी लिमिटेडसँग ४ अर्ब ५६ करोड ६६ लाख ३९ हजार ५६७ रुपैयाँ २७ पैसामा ठेक्का सम्झौता गरिएको हो ।
पूर्वाधार मन्त्री सुनिल लम्सालले विहीवार सामाजिक सञ्जालमार्फत ठेक्का सम्झौता सम्पन्न भएको जानकारी दिएका हुन् । उनका अनुसार, पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने योजनाअन्तर्गत गोरुसिङ्गे–चन्द्रौटा सडक खण्डको स्तरोन्नति गर्न लागिएको हो । हाल दुई लेन रहेको सडकलाई सर्भिस लेनसहित विस्तार गरिनेछ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाले चिनियाँ कम्पनीलाई ठेक्का दिने निर्णय गरेसँगै सम्झौता प्रक्रिया सम्पन्न भएको हो । यो आयोजना ‘एक्सेस’ (नेपाल फेज वान प्रोजेक्ट) अन्तर्गत सञ्चालन हुनेछ ।
सडक विभागको ठेक्का विवरणअनुसार निर्माण कम्पनीले काम सुरु गरेको ३० महिनाभित्र आयोजना सम्पन्न गर्नुपर्नेछ । निर्माण सम्पन्न भएपछि पाँच वर्षसम्म सडकको मर्मतसम्भारको जिम्मेवारीसमेत निर्माण कम्पनीले नै वहन गर्नुपर्नेछ ।
आयोजनाअन्तर्गत सडक विस्तारसँगै पुल, कल्भर्ट, फुटपाथ तथा पैदलयात्री र सवारीसाधनका लागि छुट्टाछुट्टै आवागमन संरचना निर्माण गरिनेछन् । मन्त्री लम्सालले सार्वजनिक गरेको विवरणअनुसार दुईवटा ठूला पुल, छवटा साना पुल र ७२ वटा कल्भर्ट निर्माण गरिनेछन् । पैदलयात्रीका लागि दुईवटा अन्डरपास र एउटा आकाशे पुलसमेत निर्माण गर्ने योजना छ ।
यता, सडक विभागको प्राविधिक विवरणमा १२ वटा नयाँ पुल, ६० वटा स्ल्याब तथा बक्स कल्भर्ट र ११ वटा पाइप कल्भर्ट निर्माण गर्ने उल्लेख छ । सडकका दुवै किनारमा २.५ मिटर चौडाइका फुटपाथ निर्माण गरिनेछन् । पुल तथा कल्भर्टको संख्यामा सार्वजनिक विवरण र प्राविधिक विवरणबीच फरक देखिएकाले अन्तिम निर्माण डिजाइनअनुसार संरचनाको संख्या यकिन हुन बाँकी छ ।
चन्द्रौटा बजार क्षेत्रमा सवारी आवागमन व्यवस्थित गर्न २० मिटर चौडा र ८०० मिटर लामो सवारीसाधन गुड्ने अन्डरपास निर्माण गरिनेछ । यसले स्थानीय तथा बजार क्षेत्रका सवारीसाधन र लामो दूरीका सवारीसाधनको आवागमनलाई अलग–अलग मार्गबाट सञ्चालन गर्न सहयोग पु¥याउनेछ । योजनाअनुसार लामो दूरीका तीव्र गतिका सवारीसाधन अन्डरपासमाथिबाट र स्थानीय तथा बजार क्षेत्रका सवारीसाधन अन्डरपासभित्रबाट सञ्चालन हुनेछन् ।
त्यस्तै, राजमार्ग आसपासका वन क्षेत्रमा वन्यजन्तुको सुरक्षित आवतजावत सुनिश्चित गर्न वन्यजन्तुमैत्री संरचनासमेत निर्माण गरिनेछ । आयोजनाको विवरणअनुसार ठूला, मझौला र साना जनावरलाई लक्षित गरी छवटा वन्यजन्तु अन्डरपास बनाइनेछन् ।
आयोजनाको ठेक्का प्रक्रियामा नेपाली तथा विदेशी निर्माण कम्पनीका संयुक्त उपक्रम (जेभी) सहित ११ वटा कम्पनी प्रतिस्पर्धामा थिए । प्राविधिक तथा आर्थिक मूल्यांकनमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै चाइना एमसीसी १७ ग्रुप कम्पनी लिमिटेड छनोट भएको हो । कम्पनीले संयुक्त मूल्यांकनमा ९७.९८ अंक प्राप्त गरेको विवरण सार्वजनिक भएको छ ।
प्रतिस्पर्धामा बिना पुरी होल्डिङ, चाइना फस्र्ट हाइवे, कोभेक–मोतिदान जेभी, इभ्रासकन–कालिका जेभी, जेसीईजी–दिवा जेभी, लङजियान–सगुन जेभी, एससीईजीसी–एएनएस जेभी, सिम्प्लेक्स–रौताहा जेभी, एसएक्सआरबी–केएसएनएस जेभी र भीबीईपीएल–इलाइट जेभी सहभागी थिए ।
सडक विभागलाई बुझाइएको विवरणअनुसार, चाइना एमसीसी १७ ग्रुप कम्पनी लिमिटेड चीन सरकारको स्वामित्व रहेको सरकारी कम्पनी हो । उक्त कम्पनीमा मेटालर्जिकल कर्पोरेसन अफ चाइना लिमिटेड (एमसीसी) को ७२.३९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।






























