पृष्ठभूमि
मानव बेचबिखनको प्रकृति फेरिएर छ तर प्रवृत्ति फेरिएको छैन् । आज दलालहरू फुलबुट्टे कपडा लगाइकन घाटीँमा रुमाल बेरेर सुनका सिक्री लगाएर घरदैलोमा आउदैनन् । उनीहरूले फरक तरिका, फरक फरक प्रविधि र फरक माध्यमबाट समाजका सोझासाझा व्यक्ति र परिवारलाई जालमा फसाउने गरेकाछन् । जबकि हेर्ने हो भने आजको युगमा विभिन्न अपराधहरूमध्ये सबैभन्दा क्रूर र अमानवीय अपराध मानव बेचबिखन हो । मानव बेचबिखन तथा ओसारपसार केवल कानूनी अपराध मात्र होइन्, यो सिगों मानवताको अपमान पनि हो । विश्वका विभिन्न देशहरूमा लाखौं मानिसहरू हरेक वर्ष विभिन्न प्रलोभनमा परेर र पारिएर बेचबिखनमा पर्ने गर्छन् । हाम्रो समाजमा गरिब, अशिक्षित, बेरोजगार तथा विपन्न वर्गका मानिसहरू यस अपराधको मुख्य शिकार बन्छन् । विशेष गरी महिला र बालबालिका बढी प्रभावित हुने समूह हुन् । तथापि अहिलेको समयमा युवा जमात पनि यसको दुष्चक्रमा परिरहेकाछन् , त्यो पनि शैक्षिक छात्रवृत्ति र रोजगारको प्रलोभनमा परेर । युवाहरूलाई खास गरी रोजगार, विवाह, अध्ययन वा उज्ज्वल भविष्यको सपना देखाएर तस्करहरूले उनीहरूलाई झुक्याउने गरेकाछन् । अनेकौं बालबालिका, महिला तथा पुरुषहरू यस अपराधको शिकार भइरहेका छन् । यो केवल व्यक्तिगत समस्या होइन् , यो राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा गम्भीर चुनौती बनिसकेको छ । नेपालजस्तो भौगोलिक रूपमा चौतर्फी खुला सीमा भएको देशमा मानव बेचबिखन रोकथामका लागि अझ उच्च सतर्कता र संयन्त्र आवश्यक छ । यस कार्यमा संघीय, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारबीच सशक्त सहकार्यको अपरिहार्यता रहेकोछ ।
संघीय सरकारले मानव बेचबिखन तथा ओसारपसार रोकथाम गर्नका लागि कानुनी संरचना निर्माण, अन्तर्राष्ट्रिय सम्झौता, नीतिगत व्यवस्था तथा सीमा सुरक्षा बललाई मजबुत र बलियो बनाउन सकृयता साथ पहल गर्न आवश्यक रहेकोछ ।
प्रदेश सरकारले सचेतना अभिवृद्धि कार्यक्रम, पुनस्र्थापना गृह निर्माण र संचालन गर्नुपर्ने, सुरक्षित आश्रयस्थलको व्यवस्थापन गर्नु पर्ने साथै रोजगारमुखी तालिम संचालनमा सक्रिय भूमिका खेल्नु पर्ने आवश्यक रहेकोछ ।
स्थानीय सरकारले समुदायस्तरमै सचेतना, विद्यालयस्तरमा चेतनामूलक पाठ्यक्रम र विद्यार्थीहरूलाई जानकारी दिने खालका अभ्यास, जोखिममा परेका परिवारको पहिचान गरी मानव बेचबिखनबाट बचाउनका लागि सचेतनाका साथै रोजगारीको अवसर सृजना गर्न प्रत्यक्ष पहल र निगरानी गर्नुपर्नेछ ।
जबसम्म तीनै तहका सरकारबीच हातेमालो र साझा अभियान हुँदैन् तबसम्म यो दुष्चक्र अन्त्य गर्न कठिन नै हुन्छ । समाज, नागरिक समाज, सञ्चारमाध्यम र आम नागरिकको सहकार्यले मात्र यो अपराधलाई जरैदेखि उखेल्न सकिन्छ । किनभने मानव बेचबिखन केवल अपराध मात्र होइन्, यो मानव सभ्यता र नैतिकताको अपमान हो। यसलाई नियन्त्रण गर्न राज्य, नागरिक समाज, सञ्चारमाध्यम, युवा पुस्ता र सम्पूर्ण नागरिकले आ आफ्नो स्तरबाट निर्वाह गर्न सक्ने जिम्मेवारी लिनुपर्छ । यस अपराधलाई पूर्ण रूपमा अन्त्य गर्न हरेक व्यक्ति सचेत र सजग हुनु अति जरूरी छ । त्यसैले यसबाट बच्न र बचाउनका लागि तीन तहको सरकार र नागरिक समाज मीडिया लगायत हाम्रो साझा प्रतिवद्धताको आवश्यक छ । अन्ततः मानव बेचबिखन विरुद्धको लडाइँ तीनै तहका सरकार र सरोकारवालाहरूले आ आफ्नो दायित्व बोध र जिम्मेवारी निर्वाह गर्न सहजता होस् भनी यस पालिको नारा नै राखिएकोछ ।
तीनै तहका सरकार मिली गरौँ हातेमालो, मानव बेचबिखनको हटाऔँ दुष्चक्र जालो जबसम्म तीनै तहका सरकारबीच हातेमालो र साझा अभियान हुँदैन, तबसम्म यो दुष्चक्र अन्त्य गर्न कठिन हुन्छ । मानव बेचबिखनका केही प्रमुख कारणहरू यस प्रकार रहेकाछन् । गरिबी र ेरोजगारी बेचबिखनमा पर्नुको कारण मध्ये नै हो । रोजगारी र जीविकोपार्जनका विकल्प नहुँदा मानिसहरू सजिलै प्रलोभनमा परिहाल्छन् र बेचिन
पुग्छन् ।
अशिक्षा र सचेतनाको कमीका कारणले गर्दा तस्करहरूले अपनाउने तस्करीका तरिका वा कानुनी अधिकार एंव व्यवस्थाबारे आवश्यक जानकारी नहुँदा त्यस्ता व्यक्तिहरू सजिलै ठगिन्छन् र बेचिन्छन् ।
लैंगिक विभेदका कारण समाजमा महिला र बालबालिकाहरूलाई कमजोर वा परनिर्भर ठान्ने सोच व्यापक छ । यसै सोचले गर्दा उनीहरूसंग गरिने व्यवहारले उनीहरूलाई जोखिममा पार्छ ।
खुला सीमाना र कमजोर कानुनी व्यवस्था पनि बेचबिखनको प्रमुख कारण मध्येका कारण हुन् ।खुला सीमाना र कमजोर कानुनी व्यवस्थाका कारण सुरक्षा संयन्त्र प्रभावकारी हुन नसकेकोले त्यसको फाईदा उठाइ तस्करहरूले सजिलै अपराध गर्छन् र सजायबाट पनि आफुलाई जोगाउन सफल भइहाल्छन् ।
अवैध श्रमशोषण र यौन व्यापार पनि यसको मुख्य कारण भित्र पर्दछ । यसको बढ्दो मागका कारण राष्ट्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा अवैध काम र यौन व्यवसायको मागले यस अपराधलाई बढावा दिइरहेको छ र मानव बेचबिखन भइरहने गरेकोछ ।
मानव बेचबिखनका कारण पर्ने प्रभावहरू
मानव बेचबिखनले केवल बेचबिखनमा परेकालाई मात्र असर पार्दैन् । यसले सम्पूर्ण मानव समाजलाई नै गहिरो असर पु¥याउँछ । प्रत्यक्ष रूपमा बेचबिखनमा पर्ने पीडितको शारीरिक, मानसिक र सामाजिक जीवन सखाब पारिदिएको हुन्छ । साथै पीडितको परिवार र समाजमा दीर्घकालीन आघात पर्छ । यस अमानवीय अपराधले राष्ट्रको छवि, देशको विकास र सामाजिक संरचनामा समेत नकारात्मक असर पार्छ ।
यसको रोकथामका उपायहरू
यस अपराधलाई रोकथाम गर्न तीनै तहको सरकारले आ आफ्नै स्तरबाट आवश्यक कदम चाल्नुपर्ने आवश्यक रहेकोछ । शिक्षा र सचेतना बढाउनका लागि विद्यालयदेखि समुदायसम्म निरन्तर सचेतना अभियान चलाउनुपर्ने हुन्छ । रोजगारको अवसर सृजना गर्नका लागि ग्रामीण तथा विपन्न वर्गलाई आत्मनिर्भर बनाउन आयआर्जनमुलक र शीपमुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ । कानुनी कडाइ गर्नुपर्ने जसले गर्दा तस्करलाई कडा सजाय दिने र पीडितलाई न्याय दिने प्रभावकारी कानुनी व्यवस्था हुनु पर्नेछ । सीमा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकार्यका साथ सीमा निगरानीलाई थप सशक्त बनाउनुपर्नेछ । यसका साथै पीडित पुनःस्थापना गर्न र गराउनका लागि उद्धार गरिएका व्यक्तिलाई स्वास्थ्य, शिक्षा, रोजगारी र सम्मानसहित समाजमा पुनःस्थापना गर्नुपर्नेछ ।
निष्कर्ष
मानव बेचबिखन केवल अपराध मात्र होइन्, यो मानव सभ्यता र नैतिकताको अपमान नै हो । यसलाई नियन्त्रण गर्न राज्य, नागरिक समाज, सञ्चारमाध्यम, युवा पुस्ता र सम्पूर्ण नागरिकले साझा जिम्मेवारी लिनुपर्छ। जबसम्म हरेक व्यक्ति सचेत र सजग हुँदैन्, तबसम्म यस अपराधलाई पूर्ण रूपमा अन्त्य गर्न असम्भव नै देखिन्छ । त्यसैले यसको उन्मूलन र नियन्त्रणका लागि हाम्रो साझा प्रतिवद्धता आवश्यक छ । आखिर मानव बेचबिखन विरुद्धको लडाइँ केवल सरकारको मात्र जिम्मेवारी होइन् , यो हाम्रो सामूहिक दायित्व हो । त्यसैले नै यसपालिको नारा रहेकोछ ,
तीनै तहका सरकार मिली गरौँ हातेमालो,
मानव बेचबिखनको हटाऔँ दुष्चक्र जालो ।