‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने मूल नाराका साथ शनिबार कर दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ । मंसिर १ लाई कर दिवस र ७ गतेसम्म कर सप्ताह मनाउने गरिन्छ । कर सप्ताहमा करदाता सम्मान, कर सचेतनामूलक विभिन्न कार्यक्रमहरू आयोजना हुँदै आएका छन् ।
मूल्य अभिवृद्धि कर अर्थात् आधुनिक एवं वैज्ञानिक कर प्रणालीको सुरुवात भएको दिन विसं २०५४ मङ्सिर १ गते स्मरण गर्दै राष्ट्रिय कर दिवस मनाउन थालिएको हो ।
आन्तरिक राजश्व कार्यालय नेपालगन्जले पनि कर सप्ताहको पहिलो दिन शनिबार र्यालीसँगै औपचारिक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार करको दरभन्दा दायरा विस्तार गर्न लागेको बताएका छन् । ‘राज्य बलियो भए उद्योग–व्यवसाय बलिया हुन्छन् । त्यसैले राज्यलाई बलियो बनाउन राजस्व लक्ष्यभन्दा बढी सङ्कलन हुनुपर्छ’, उनले भने, ‘राजस्व असुली कम गर्ने छुट कसैलाई छैन ।’
खुला सिमानाका कारण राजस्व छली हुने समस्या घटाउन उद्योगी– व्यवसायी, कर्मचारी र प्रहरी अझ सक्रिय हुुनुपर्नेमा मन्त्री भण्डारीले जोड दिए । उनले व्यवसायीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा उद्योग बाणिज्य संघ नेपालगन्जका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले आन्तरिक राजस्व कार्यालयले सचेतनामूलक कार्यक्रममार्फत कर नतिर्नेलाई करको दायरामा ल्याउनुपर्नेमा जोड दिए । त्यसका लागि संघले आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
व्यवसायीलाई करको दायरामा ल्याउन लेखा परीक्षकको भूमिका महत्वपूर्ण हुने भएकाले राज्यलाई सहयोग भएको कार्यालय प्रमुख न्यौपानेले बताए । उनले सबै व्यवसायीलाई राज्यले निर्धारण गरेको कर नियमित र समयमै तिर्न आग्रह गरे ।
आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत पूर्ण प्रसाद न्यौपानेले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत व्यवसायी, उद्योगीसँग शिक्षण संस्थामा कर शिक्षा, उत्कृष्ट करदातालाई सम्मान, विभिन्न स्थानमा कर सचेतनालगायत कार्यक्रम गरिने जानकारी दिए ।
आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सांसद दीपा शर्मा, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल लगायतले बोलेका थिए ।
आर्थिक ऐन, २०८१ ले स्थायी लेखा नम्बर नलिई कारोबार गरिरहेका करदाताले स्थायी लेखा नम्बर लिएमा, आय विवरण बुझाउन बाँकी रहेका करदाताले आव २०७९÷०८० सम्मको विवरण बुझाएमा र २०८० असार महिना सम्मको बुझाउन बाँकी मूल्य अभिवृद्धि कर विवरण र सो वापतको कर र ब्याजको ५० प्रतिशतले हुने रकम बुझाएमा फागुन मसान्तसम्म छुट सुविधा दिने व्यवस्था गरेको छ ।
नेपालगन्जका व्यवसायीहरूले एकद्वारबाट कर लिने व्यवस्थाको माग गर्दै आएका छन् । कर तिर्नकै लागि विभिन्न कार्यालय धाउनु पर्ने अवस्थाको अन्त्य गर्दै दर्तादेखि कर सम्म एउटै प्रणालीबाट हुनुपर्ने माग व्यवसायीहरूको रहँदै आएको छ । व्यवसायीहरूले एकद्वार प्रणालीको माग गरेपनि त्यसको सुनुवाई भने राज्यलेअ हिलेसम्म गरेको छैन ।