महेन्द्र पुस्तकालयमा ‘गुल्जार–ए–अदब, नेपालगन्ज’को मासिक ‘तरह’ मुशायरा (कवि गोष्ठी) आयोजना भएको छ। यस पटकको मुशायराका लागि ‘मिसरा–ए–तरह’ (कविताको मुख्य हरफ) “जिन्होंने बस्ती उजाड़ डाली, कभी तो उनका हिसाब होगा” तय गरिएको थियो।
वरिष्ठ शायर सैय्यद अश्फाक रसूल हाश्मीले कार्यक्रमको अध्यक्षता गरेका थिए भने संस्थाका उपाध्यक्ष नुरुल हसन ‘नुर’ले कार्यक्रम सञ्चालन गरे ।
मुशायरामा सहभागी शायरहरूले तोकिएको ‘मिसरा–ए–तरह’मा आधारित भई तयार पारेका गजल र शेरहरू प्रस्तुत गरेका थिए। उनीहरूका सिर्जनालाई दर्शक–श्रोताले निकै मन पराएका थिए ।
कार्यक्रममा ‘गुल्जार–ए–अदब’का संरक्षक तथा वरिष्ठ शायर सैय्यद अश्फाक रसूल हाश्मी ‘सैय्यद नेपाली’, अध्यक्ष मुस्तफा अहसन कुरैशी ‘अहसन’, आदिल सरवर ‘सरवर नेपाली’, नशीर माेहम्मद ‘अन्सर नेपाली’, इस्माइल अन्सारी, मेराज अहमद ‘हिमाल’, नुरुल हसन ‘नुर’, सैय्यद आसिम सरवर र नुर मोहम्मद अन्सारी लगायतका कविहरूले आफ्ना रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रममा डा. उमेर सादिक, अजमल, राशिद कमाल, बब्बु फारुकी लगायत अन्य धेरै साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति थियो।
मुशायराको समापनमा आयोजकहरूले नेपाली समाजमा उर्दू साहित्यको प्रवर्द्धन र प्रसारका लागि भविष्यमा पनि निरन्तर यस्ता कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे ।