नेपालगन्जस्थित भेरी अस्पतालले स्वास्थ्य उपचारको क्षेत्रमा अर्काे फड्को मारेको छ ।
आफ्नो उपचार सेवाको विशेषज्ञतामा वृद्धि गर्दै लगेको भेरीमा अस्पतालमा आज मंगलबार पहिलो पटक मृर्गौला प्रत्यारोपण गरिंदैछ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले लुम्बिनी प्रदेशमै पहिलो पटक भेरी अस्पतालमा मृर्गौला प्रत्यारोपणको सुरुवात गर्न थालेको बताए ।
‘एक जना बिरामीको मृर्गौला प्रत्यारोपण गरिंदैछ, त्यसका सबै प्रक्रियाहरु पूरा छन्’, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.सुवेदीले दैनिक नेपालगन्जसँग भने, ‘मृगौला प्रत्यारोपणका लागि शहिद धर्मभक्त माथेमा मानव अंग प्रत्यारोपण केन्द्रको टोली अस्पताल आइसकेको छ ।’
भेरी अस्पतालका यूरोलोजी विशेषज्ञ, डा. दिपेश गुप्ता, एनेस्थेसिया डा. पारस पाण्डे, नेफ्रोलोजी तर्फ डा. शौरभ हमाल, युरोलोजीकै डा. अञ्जित फुयाल, डायलोसिस इन्चार्ज डा. पारस श्रेष्ठ लगायतको टोली मृर्गाैला प्रत्यारोपणमा रहनेछन् ।
मृर्गौला प्रत्यारोपण निकै चुनौतिपूर्ण हुन्छ । मृर्गौला दाताको मृर्गौला निकालेर बिरामीको मृर्गौलामा हाल्नुपर्छ । ‘मृर्गौलाको प्रत्यारोपण जटिल त हुन्छ नै त्यो भन्दा जटिल बिरामीको शरीरले त्यसलाई स्वीकार्छ वा स्वीकार्दैन भन्ने हो’, डा. सुवेदीले भने ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सुवेदीले प्रत्यारोपणका लागि यसअघि नै अस्पतालले आवश्यक अनुमतिका सबै प्रक्रिया पूरा गरिसकेको जानकारी दिए । ‘मृर्गौला प्रत्यारोपण सफल भए यसलाई महिनामा एउटा गर्दै बढाउने अस्पतालको लक्ष्य हो’, उनले भने, ‘तर त्यसका लागि उपकरण, जनशक्ति र पूर्वाधार भने थप आवश्यक पर्छ ।’
भेरी अस्पताल नेपालगन्जमा हाल दैनिक २०÷२५ जना मृर्गौलाका बिरामीले डायलोसिस गर्दै आएका छन् । ‘भेरीमा मृर्गाैला प्रत्यारोपण गर्न सकिए त्यो न्यूनतम शुल्कमा हुनसक्छ, यसले बिरामीलाई लाभ हुन्छ’, मेसु डा.सुवेदीले भने ।
अस्पतालले पछिल्लो समय जलनका बिरारमीका लागि ६ शैय्याको छुट्टै वार्ड, २० शैय्याको सर्जिकल वार्ड, १६ शैय्या पोष्ट अपरेटिभ वार्ड, नयाँ ओटिपि सञ्चालन ल्याइसकेको छ ।
भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले मृर्गौलाको प्रत्यारोपण अस्पतालको उपलब्धी हुनुका साथै त्यससम्बन्धी बिरामीका लागि उपचारको आशा जगाउने काम भएको बताएका छन् ।
कसरी हुन्छ मृगौला प्रत्यारोपण ?
मृगौला प्रत्यारोपण एक शल्य प्रक्रिया हो, जो मृगौला काम नलाग्ने भएपछि गर्नुपर्छ । यसको केहि कानुनी र चिकित्सकीय प्रक्रिया छन् । उक्त प्रक्रिया पार गरेपछि अर्का स्वस्थ्य व्यक्तिको मृगौला निकालेर प्रत्यारोपण गरिन्छ ।
कानुनी एवं चिकित्सकीय प्रक्रिया पुरा गरेपछि मृगौला प्रत्यारोपणका लागि तयार गरिन्छ । मृगौला दाताले दिएको मृगौला शल्यक्रियाबाट रोगीको शरीरमा प्रत्यारोपण गरिन्छ । यसरी प्रत्यारोपण गरिएको एउटा मृगौलाले पनि रोगीलाई पुन सामान्य जीवनमा फर्काउन मद्दत गर्छ । मृगौला प्रत्यारोपणपछि शारीरिक स्वस्थ्यमा भने निकै सावधानी अपनाउनुपर्छ ।
थाहा भएकै हो, शरीरमा दुई वटा मृगौला हुन्छ । एउटा मृगौलाको अनुपस्थितिमा अर्कोले त्यसको भरथेग गर्छ । तर, मृगौला खराब भएको कुरा त्यहीबेला मात्र थाहा हुन्छ, जब दुबै मृगौलामा समस्या पैदा हुन्छ ।
किन हुन्छ मृगौला खराब ?
अनेक कारणले मृर्गौला खराब हुनसक्छ । यद्यपी धेरैजसो चाहिँ अस्वस्थ्य खानपान र जीवनशैली नै मृगौला खराब गर्ने कारण हुन् । त्यसबाहेक वंशानुगत रुपमा पनि कतिलाई यसले च्याप्न सक्छ । विषाक्त पदार्थको अधिक सेवन, पानीको अपर्याप्तता, असन्तुलित जीवनशैली, चिन्ता आदिले मृगौलामा सोझो असर गर्छ ।
कसरी जोगाउने ?
वास्तवमा मृगौलामा रोग लागेर त्यसको निदान खोज्नुभन्दा रोग लाग्नुपूर्व राम्रो हो । त्यसैले मृगौलामा समस्या नभएपनि त्यसप्रति सचेत हुनैपर्छ । मृगौलालाई स्वस्थ्य राख्न सन्तुलित, स्वस्थ्य जीवनशैली अपनाउनुपर्छ ।
मृगौला खराब भएमा ?
यदि मृगौला खराब भएमा के गर्ने ? त्यसको समाधान हो चिकित्सकीय विधि । कृतिम रुपमा मृगौलाको कार्यसंचालन गराएर वा मृगौला प्रत्यारोपण गरेर यसको समस्याबाट पार पाउन सकिन्छ । तर, यो विधि झन्झटिलो र खर्चिलो हुन्छ । यद्यपी अन्तिम अवस्थामा यी दुई विधिको विकल्प पनि रहन्न ।
के हो डाइलोसिस ?
मृगौलाको कार्यक्षमता कमजोर भएपछि यो विधि अपनाइन्छ । मृगौलाले गर्ने काम यसले कृतिम ढंगले सम्पन्न गर्छ । यो एक किसिमको यान्त्रिक उपचार हो । डाइलसिसले मात्र नहुने अवस्थामा मृगौला प्रत्यारोपण एकमात्र र अन्तिम विकल्प रहन्छ ।