नेपालगन्जमा पछिल्लो समय निरन्तर तापक्रम उच्च रहेको छ । उच्च तापक्रममा पनि सडकमा खुला आकाशमूनि काम गर्नुपर्ने श्रमिकको बाध्यता रहेको छ ।
उनीहरूलाई थोरै भएपनि राहत दिने उद्देश्यले नेपालगन्जका ५० बढी खुला आकाशमा चर्को गर्मीमा काम गर्नेलाई छाता लगायतका सामाग्री वितरण बाँके रेडक्रसले सुरु गरेको
छ ।
घरभित्रै पनि अघोषित लोडसेडिङ्गका कारण मानिसहरू आरामले बस्न सक्दैनन् । न त राती विद्युत अनियमित हुँदा सुत्न सक्ने अवस्था छ । दैनिक गुजाराका लागि सडकमा नियमित काम गर्नुपर्नेहरूको पीडा उस्तै छ । ‘कम्तिमा चर्को घामबाट जोगाउने उद्देश्यले तातो हावाको जोखिम न्यूनीकरण कार्यक्रम अन्तर्गत छाता, टुमलेट, टोपी र हातेपंखा वितरण गरिरहेका छौं’, रेडक्रस बाँकेका सदस्य मिन बहादुर मल्लले भने ।
रेडक्रस बाँकेका सदस्य मल्लले हालसम्म १० जना सडकमा अर्थोपार्जनका लागि बस्नेहरूलाई सामाग्री वितरण गरेकोमा ५० जनालाई वितरण गर्ने योजना
रहेको सुनाए ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, मंगलबार नेपालगन्जको अधिकतम र न्यूनतम तापक्रममा कमी आएको छ । मंगलबार तातो हावा नचलेर दिनभर जसो बादलिएर पनि पानी भने परेन । जसका कारण नेपालगन्ज बासीले उम्सो महसुस गरेको बताए ।
विद्युत अनियमित भएको सन्दर्भमा सामाजिक सञ्जालमा चर्को आलोचना हुनुका साथै ज्ञापन पत्र बुझाउने र आन्दोलनका कार्यक्रम समेत भएका छन् । तर, नेपाल विद्युत प्राधिकरणले त्यसमा ठोस जवाफ दिन सकेको छैन ।
‘विद्युत अनियमित नै नगर्नु, गर्नै परे कम्तिमा लोडसेडिङ्ग तालिका सार्वजनिक गर्नु’, हालै प्राधिकरणलाई ज्ञापन पत्र बुझाउन जाँदा गैसस महासंघका नमस्कार शाहले भनेका थिए, ‘नेपाल विद्युत प्राधिकरणको सेवाग्राही प्रति जवाफदेहिता नै भएन, शुल्क नतिरे नियम भन्दै लाइन काट्ने, ढिलो महसुल तिर जरिवाना तिर्नै पर्ने तर सेवा दिंदा वेवास्ता गर्ने मात्रै होइन रेडिमेट जवाफ दिने र समस्या समाधान गर्न आफै पहल गर्नुस् भन्ने गैरजिम्मेवार प्रतिक्रिया दिने काम भएको छ ।’
नेपालगन्जबासीले प्रत्येक बर्ष गर्मीका समस्यामा अघोषित लोडसेडिङको समस्या झेल्नु परिरहेको छ । जसले गर्दा यहाँका उद्योगी, व्यवसायी समेत मर्कामा रहेका छन् ।
‘विद्युत दिन नसक्दा दिन सक्दिन भन्नु पर्यो, विद्युतमा फोन गर्दा माथिबाटै काटिएको हो, कतिखेर आउँछ था छैन भन्ने प्रक्रिया आउँछ’, नेपालगन्जबासीको प्रतिक्रिया छ, ‘प्राविधिक कारण भन्दा पनि मनपरी ढंगले विद्युत अनियमित भैरहेको छ ।’