डोल्पा यात्रा कै क्रममा हामीहरु चिसापानी ब्यारेकमा पुग्दा नै आफ्नो रंगरुप देखाएको हामी हिँडेको गाडी चालकले बाटोमा कहाँ कहाँ के के रंङरुप देखाउँछ भन्ने कुरा अब मेरो नोटिसमा रहन थाल्यो । नेपालगञ्जबाट हिँड्दा गाडीमा हामी दुई जना र एकजना डोल्पाको जिल्ला स्वास्थ्य अस्पतालमा रेडियोलोजीमा कार्यरत कर्मचारी मात्रै थियौं । अरु यात्रु छिन्चुबाट चढ्ने कुरा थियो । चालकलाई मिनेट मिनेटमा फोन आइरहेका थिए । मानौं उ ठूलै ब्यापारी नै हो कि झैं, तर धेरै कलहरु भने छिन्चुबाट चढ्ने तीन चारजना यात्रुहरुले गरेका थिए । चालकले भने ‘क्या भोक लागेको छ, खाजा खान पाए हुन्थ्यो’ मैले भने उसो भए बबई मैं खाजा खाउँ न त । खासमा छिन्चु पुगेर आत्तिएका यात्रिलाई पनि राहत हुने र खाजा पनि खाने मन थियो तर चालकको छटपटी देख्दा बबई मैं खाजा खाने निधो भयो । चालकले गाडी लगेर शुरुकै होटलतिर रोक्यो ।
हामी गाडीबाट ओर्लिए पनि अर्की यात्रु भने गाडी मैं बसिरहिन । मैले चियाको अर्डर दिएँ । चालक चुरोट समाएर ट्वाइलेटतिर लाग्यो । चिया बन्यो, हामीले चिया नास्ता गरिसक्यौं । तर चालक ट्वाइलेटबाट निस्केन । चालिस मिनेट भयो तर उ ननिस्केपछि म ट्वाइलेटको बाहिर गएर के भएको हो भनेर सोधें । भित्र चुरोटको धुवाँ भरिएको थियो शायद अलि फरक नै गन्ध आइरहेको थियो । ‘अंकल मलाइ पेट काटेको छ , डायरिया भएको छ, एकछिन है’ भनेर भित्रबाट आवाज आयो ।
हामी चालकको प्रतिक्षारत मै रह्यौं । केहिबेरमा उ निस्केपछि मैले यदि पेट काटेको र डायरिया भएको हो भने दुधको चिया नखानु बरु मसँग डायरियाको औषधी छ खाउ भने । तर चालकले मेरो कुरा मानेन र दुधकै चिया लियो अनि अर्को चुरोट सल्कायो । चुरोटको धुवाँसँगै चिया पियो । मैले भनें ‘तिमिलाई भोग लागेको होइन ? खाजा पनि खाउ अनि मसँग औषधी छ त्यो पनि दिन्छु तिमिलाई ठिक हुन्छ । बाटोमा डायरिया भयो भने आफत पो हुन्छ त भाइ ।’ मेरो भनाईमा उसलाई कुनै वास्ता भएन । किन कि उसलाई डायरिया सायरिया केहि भएकै थिएन ।
म भने अब चालक कुनै न कुनै लागू औषधको एडिक हो भन्नेमा निश्चित हुन थालें । केहिबेर सम्म निकै भोक लागेको छ भनेको मान्छेले मात्रै एककप चिया खाएर हिँड्यो । ढिलो गरेकोमा अर्की यात्रुसँग उसको निकै भनाभन समेत भयो ।
यत्रो लामो र अप्ढ्यारो यात्रा गर्नु छ । चालकलाई बिच्क्याएर यात्रा किरकिरा बनाउनु पनि थिएन । यसैले मैले ती नानीलाई संयमता अपनाउन अनुरोध गरें ।
गाडी चढ्दै गर्दा चालकले लरबराउँदै आफ्नो मोबाइल चालक सीटबाट सडकमा खसाल्यो । अब त चालकको चालामा कैफियत भएको लगभग पक्का भयो । तर यात्रा गर्नु छ विकल्प छैन । फेरि छिन्चुबाट थप यात्रु थपिएपछि केहि त होला भन्ने लाग्न थाल्यो यसैले चुपचाप गाडीमा बस्यौं ।
गाडी त्यहाँबाट हिँडेपछि हर्रेको उकालोमा गाडी सामुन्नेबाट आएको ट्रकसँग ठोकिँदा ठोकिँदै बच्यो । चालकको चाला निको थिएन । मौन नै रहेर छिन्चु पुग्यौं । यतिबेला भने ८ः३० बजेको थियो । सुर्खेततिर जाने बाटो छोडेर जाजरकोटतिर जाने बाटोतर्फ गाडी फर्काएर यात्रु चढाउन थाल्यो । त्यहाँ चढ्ने भनेका तीन जना यात्रु तर रहेछन् चार जना ।
अगाडीको सीटमा हामी दुई जना भनेको उसले त अर्की एकजनालाई पनि राखेर अब चल्नु न चट्पटाउनु बनायो ।
सामान्यतया हरेक रुटमा चालकहरुले आफुसँगैको सीटमा आफ्नै आधासीट दिएर भएपनि सकेसम्म केटीमान्छेलाई नै राख्ने चलन धेरैै छ । बसका क्याबिनमा पनि महिलालाई राख्ने, लोकल रुटमा पनि चालकसँग केटिमान्छेहरुलाई नै राख्ने, यो अलि बिचित्रको चलन छ हामीकहाँ । यात्रा गर्ने यात्रुलाई यहाँ बस त्यहाँ नबस भन्न पनि मिल्ने कुरा होइन क्यारे । जो जो जहाँ बसेपनि र बसाएपनि सब ठिक छ भन्ने हिँड्ने मात्रै त हो । मैले आजसम्म झण्डै पैसठ्ठी जिल्ला घुम्दा देखेको भोगेको प्रायः यस्तै यस्तै हो । यो कुनै कसैलाई केहि आक्षेप होइन, कसैलाई अन्यथा नलागोस् ।
निकैबेर काउण्टरमा गल्फत्ति गर्यो चालकले । हामीहरु करायौं अनि हिँड्यो । पाँच किलोमिटर जति हिँडेपछि चालकले आफ्नो मोबाइल खोज्यो । उसले मोबाइल नपाएपछि उसको मोबाइलमा फोन गर्न लगायो । एकजना यात्रुले उसको मोबाइलमा फोन गर्दा फोन त छिन्चु काउण्टरमा छोडेको रहेछ । त्यो मोबाइल तल्लुबगर जाने फोर्स गाडीमा पठाइदिन भन्यो ।
अलि हिँडेपछि उसलाई के सनक चढ्यो कुन्नी मोबाइल लिन भनेर गाडी घुमायो र फेरि छिन्चु नै आयो तर मोबाइल त्यहाँ थिएन । काउण्टरवालाले मोबाइल भनेअनुसार नै तल्लुबगर जाने गाडी चालकसँग नै पठाइदिएका रहेछन् ।
गाडी मोडेर अब चालकले मोबाइल लगेको गाडीलाई भेट्टाउन भन्दै हुँइक्याउन थाल्यो ।
‘ए बाबु तिम्रो मोबाइल कतै जाँदैन, गाडी स्टाफहरुले लगेका छन्, बाटोमा खाना खाने ठाउँसम्म त भेटिन्छ नि यसरी अनिन्त्रित तरिकाले गाडी चलाउन हुन्न’ मैले भने । मेरो कुरामा सहि थाप्दै पछाडी बसेका यात्रुहरुले पनि भन्न थाले ।
‘मेरो मोबाइलमा कति फोन आउँछन्, साहुले फोन गर्छन्, अरु कोकसका फोन आउँछन्् फोन त लिनुपर्यो नि’ निकै बेचैनीसँग चालकले भन्यो ।
यहाँ चालक उसको मोबाइल अगाडी गैरहेको छ भन्ने पक्का हुँदा पनि यतिसारो बेचैन भएको देख्दा अब झन उसको लागूऔषधको सेवन वा धन्दा जे पनि हुनसक्छ भन्ने कुरामा थप शंका बढ्न थाल्यो ।
गाडीमा भएका हामी सातजना यात्रुहरुका आफ्नै गफ हुँदै थिए । परिचय पनि भयो । अनि खाना त छेडामा नै खाने त्यहाँ माछा र रोटी खान पाइन्छ भन्ने कुरा नियमित हिँड्ने गरेका यात्रुले भन्दै थिए । हामी पनि वहाँहरुको कुरामा हँ मिलाइ रहेका थियौं किन कि यो बाटो हाम्रा लागि नयाँ थियो ।
यात्रामा साथीहरु सहज र मिल्दाजुल्दा भएभने यात्राको मजा नै अलग्गै हुन्छ । यहाँ पनि हामी सातजना यात्री लगभग कोहि ठुस्स परेर बस्ने वा बाटोमा वाक्क र ब्याक्क गरेर ब्याकुल बनाउने परेनन् । सबैजनामा छिट्टै नै एक आपसमा गफगाफ गर्ने रमाउने गर्न थालिसकेका थियौं ।
यहाँ हामी दुई जना मात्रै घुमफिरको लागि हिँडेका निस्क्यौ. । अरु त कोहि घर जाने त कोहि जागीरमा जाने हुनुहुँदो रहेछ । यात्रुहरु मध्येका एकजना युवा पत्रकार पूर्ण जी अलि बढि नै रोमान्टिक देखिनु भयो अनि धर्मजी जिम्मेवार । जे होस यात्रा ठिकै चल्दै थियो । गाडीले सिम्ताबाट अलि अगाडी खोल्सामा एउटा ट्रकलाई उसले सिग्नल नदिइकनै ओभरटेक गर्न खोज्यो त्यो यस्तो ठाउँमा कि जहाँ अलिकति चुक हुँदा वा ट्रकले ब्रेक नहानेको भए गाडी सिधै भेरी नदिमा जाने थियो । यहाँ चालकको मूख्र्याइँ देख्दा एकपटक सबैजना तर्सियौं पनि अनि चालकले हर्रेको अकालोमा गरेको हर्कतको प्रसँग पनि चल्यो ।
गाडी १२ बजे जाजरकोटको छेडा पुग्यो । अब खाना खाने भन्ने कुरा भयो । त्यहाँ पुग्नासाथ मुखैमा रहेको प्रहरी पोस्टमा चालकले ट्राफिक जरिवाना काटेको पर्ची दिएर म खाना खाएर लिन आउँछु भन्यो र गाडी होटलमा रोक्यो ।
चालकले गाडीको चाबी समेत ननिकालिकन उत्रियो । हामीहरु पनि उत्रियौं । त्यहाँ त खानाको अर्डर पहिल्यै गरेको थिएन, खाना बनाउन लगायौं । पूर्ण जी भने सुटुक्क अर्को होटलतिर गएर खाना खाएर आएछन् । ‘लोकलको चाला पाहुना भोकै राखेर आफु खाने हो ?’ धर्मसर र मैले जिस्कायौं । हामी धर्मराज सर, जीत बम, उषा र सानु अनि हामी बुडाबुडी खाना पाक्ने समय भरि बिभिन्न उतै डोल्पातिरका त कुनै फोक्सुण्डो जाने कुराकानी गरेर समय बितायौं ।
धर्मसर फोक्सुण्डो राष्ट्रिय निकुञ्ज मैं कार्यरत रहेकोले वहाँले धेरै कुराहरु शेयर गर्नुभयो । अनि उषा नानी भने जागीरमा हिजै पुग्न पर्ने यो चालकले हिजो धोका दिएर नगएकोले पुग्न नसकेको भन्दै पिर मान्दै छट्पटाउँदै थिइन । क्रमशः





























