पाँच वर्षअघि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भनेर नेपालगन्ज रंगशालामा करिब एक अर्ब ५० करोड रूपैयाँ खर्च गरी खेलकुद संरचनाहरू बनाइयो । जहाँ बर्मुडा घाँससहितको अत्याधुनिक फूटबल मैदान, प्यारापिट, अन्तर्राष्ट्रिय मापदण्डको स्वीमिङ पुल, भारोत्तोलन एकेडेमी र सुटिङ रेञ्ज, ह्यान्डबल, पार्केटिङसहितको भलिबल तथा ब्याडमिन्टन कोर्ट र बास्केटबल कोर्ट निर्माण गरिएका थिए । तर, यी संरचनाको प्रयोगमा राज्यका खेलकुदसँग सम्बन्धित कुनैपनि निकाय गम्भीर नहुँदा यी संरचनाहरू खण्डहर बन्न थालेका छन् । रंगशालाका यी नयाँ बनेका कुनैपनि संरचनाहरू उपयोग भइरहेका छैनन् । न कुनै खेल प्रतियोगिताहरू भइरहेका छन् न अभ्यास ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) मातहत रहेको यो रंगशालामा संरचना बनेपछि परिषदले तिनको उपयोगको लागि न कुनै योजना बनायो न प्रभावकारी सन्चालनका लागि कर्मचारी र स्रोत व्यवस्थापन गर्यो । नेपालगन्ज रंगशालाका प्रमुख महेश चन्द अहिले रंगशालामा माथिबाट आउने बजेट शून्य रहेको बताउँछन् । रंगशाला संघीय संरचनाले नचिन्ने र अस्तित्वमै नरहेको मध्यपश्चिम खेलकुद विकास समितिकै नाममा चलिरहेको छ । प्रदेश खेलकुद विकास समिति समेत गठन भइसक्दा यसको हस्तान्तरणको काम हुन सकेको छैन । उक्त संरचना संघ, प्रदेश वा स्थानीय कुन तहमातहत राख्ने भन्ने टुंगो लागेको छैन ।
रंगशालाको फुटबल मैदानमा बर्मुदा दुबो रोपेको र प्यारापिट समेत बनेयता दुईपटकमात्रै फुटबल प्रतियोगिता सन्चालन गरिएको छ । अहिले कुनै प्रतियोगिता र अभ्यास हुनेसमेत तालिका छैन । कार्यालय प्रमुख चन्द १० राष्टिय खेलकुद प्रतियोगिताका लागि अभ्यास खेलहरू हुने पर्खाइमा बसेको बताउँछन् ।
प्रतियोगितासमेत नहुँदा र नियमित रेखदेख र सम्भार नहुदा फुटबल मैदानमा लगाइएको दुबोसमेत सुकिसकेको छ । आठौँ राष्टिय खेलकुद प्रतियोगिता सन्चालन गर्नुअघि यो घाँसलाई भारतको कलकत्ताबाट ल्याएर रोपिएको थियो । करिब ४० लाख रूपैयाँ सो घाँसलाई रोप्दा खर्च भएको थियो । रंगशालाका कार्यालय प्रमुख महेश चन्द यस दुबोलाई बचाउन नसक्ने अवस्थामा पुगेको बताउँछन् । अब स्थानीय जातको दुबो रोप्नुपर्ने उनको भनाइ छ । दुबो रोपेपनि त्यसलाई जोगाउनका लागि कर्मचारी र बजेट दिएन । अनि त्यतिबेला हतारहतार बाहिरबाट यो दुबो ल्याएर रोपियो । अहिले आएर बचाउन गाह्रो भइरहेको छ । यो भन्दा बरु स्थानीय दुबो नै ठिक हुने देखिएको छ, चन्दले भने ।
यसैगरी, रंगशालामा रहेको पौडी पोखरी देशकै ठूलो पौडी पोखरी हो । अनि उक्त पोखरी खेलकुदको अन्तराष्टिय मापदण्डअनुसारको हो । नेपालगन्जजस्तोे प्रचण्ड गर्मी हुने सहरमा रहेको उक्त पोखरी खेलाडीलाई मात्रै नभै सबै सर्वसाधारणका लागि खुला छ । यस हिसाबले यो पौडी पोखरी नेपालगन्जवासीहरूको गर्मी छल्ने एक प्रमुख गन्तव्य बन्नुपर्ने थियो । तर, त्यसो भएको देखिन्न । अहिले विदाको दिनमा भने तुलनात्मकरुमा बढी संख्यामा मानिसहरू त्यहाँ पुगेपनि अन्य दिनमा तुलनात्मकरूपमा कम मानिसहरू पुग्छन् । चन्द भन्छन्, यहाँ पानी फिल्टर गर्नका लागि मेसिनहरू जडान गरिएका छन् । प्रशिक्षकको निगरानीमा बालबालिकालाई पौडी सिकाउने अवसर पनि छ । तर अभिभावकहरूले आफ्ना बालबालिकालाई यहाँ ल्याएर यसको सदुपयोग गर्न चासो देखाउनुभएको छैन ।
१५ करोडबढी लागत लागेको र निर्माण हुनै करिब एक दशक लागेको उक्त पोखरी नै अहिले रंगशालाको एक आम्दानीको स्रोत हो । तर, त्यसले नै खर्च धान्ने अवस्था छैन ।