बाँकेको खजुरा गाउँपालिकाले खेतमा धानको पराल, ठुटा तथा अन्य कृषिजन्य अवशेष जलाउन पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। धान भित्र्याउने क्रम तीव्र भइरहेका बेला गाउँपालिकाले वातावरण, मानव स्वास्थ्य र माटोको उर्वराशक्तिमा प्रतिकूल असर पर्ने भन्दै यस्तो प्रतिबन्ध लगाएको हो ।
गाउँपालिकाका अनुसार धान कटाइका लागि कम्बाइन हार्भेस्टरजस्ता आधुनिक कृषि उपकरणको प्रयोग बढेसँगै खेतमा बाँकी रहने पराल, ठुटा तथा अन्य कृषिजन्य अवशेष जलाउने प्रवृत्ति बढ्दै गएको छ । यसले वायु प्रदूषण बढाउनुका साथै माटोको उर्वराशक्ति नष्ट गर्ने, आगलागीको जोखिम बढाउने र पशु आहाराको संकट निम्त्याउने भएकाले यस्तो कार्य निषेध गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले फोहोरमैला व्यवस्थापन ऐन, २०६७, वातावरण संरक्षण ऐन, २०७६ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को कानुनी व्यवस्थालाई आधार बनाउँदै पालिकाभित्र खेतमा आगो लगाउन पूर्ण प्रतिबन्ध लगाइएको जनाएको छ ।
गाउँपालिकाले किसानलाई धानको पराल तथा अन्य बाली अवशेष नजलाउन आग्रह गर्दै त्यसलाई कम्पोस्ट मल बनाउन, पशु आहाराका रूपमा भण्डारण गर्न वा नजिकैका गौशालामा उपलब्ध गराएर वैकल्पिक उपयोग गर्न अपिल गरेको छ ।
गाउँपालिकाले जारी गरेको सूचनामा प्रतिबन्धको बेवास्ता गरी बाली अवशेष जलाएको पाइएमा वा त्यस्तो कार्यबाट दुर्घटना तथा क्षति भएमा सम्बन्धित किसान स्वयं जवाफदेही हुनुपर्ने उल्लेख छ । साथै, दोषीमाथि प्रचलित कानुनबमोजिम कारबाही तथा जरिवाना गरिने चेतावनीसमेत दिइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलद्वारा जारी सूचनामार्फत सम्बन्धित सबै किसानलाई बाली अवशेषको उचित व्यवस्थापन गरी वातावरण संरक्षणमा सहयोग गर्न आग्रह गरिएको छ ।





























