राष्ट्रिय जनगणनाको बालविवाह सम्बन्धी विश्लेषण गरेर राष्ट्रिय तथ्यांक कार्यालयले प्रतिवेदन सार्वजनिक गरेको छ ।
नेपालमा ८.९ प्रतिशत दलित पुरुष बालविवाह भएको समूहमा पर्दछन् भने ३४.० प्रतिशत विवाहित महिला बालविवाह भएकोमा पर्दछन् ।
तथ्यांक कार्यालयका अनुसार, गैरदलित जातजातितर्फ बालविवाहमा पर्ने पुरुष ४.४ प्रतिशत मात्र छन् भने महिला करिब २० प्रतिशत रहेका छन् । प्रदेशहरू बिचमा तुलना गर्दा बालविवाहको सबैभन्दा उच्च २०.१% विद्यमानतादर कर्णालीमा र सबैभन्दा न्यून ८.४% बागमतीमा रहेको छ ।
दलित महिलातर्फको बाल विवाह दर पहिलो ४२.५% मधेस, दोस्रो ४०.७% कर्णाली र तेस्रो ३२.१% मा कोशी प्रदेश रहेको छ । दलित महिलातर्फ सबैभन्दा न्यून २४.५% बाल विवाहदर बागमती प्रदेशमा रहेको छ ।
गैरदलित महिलातर्फ सबैभन्दा उच्च ३०.८% बाल विवाहदर मधेसमा छ भने दोस्रो २५.३% र तेस्रो २०.०% मा क्रमशः कर्णाली र लुम्बिनी रहेका छन् ।
राष्ट्रिय तथ्यांक कार्यालयका प्रतिवेदन अनुसार, दलित महिलातर्फको बालविवाह विद्यमानतादर राष्ट्रिय औसत ३४.०% भन्दा उच्च अनुपात रहको प्रदेशहरू मधेस ४२.५% र कर्णाली ४०.७% हुन् । बाँकी प्रदेशहरूमा यो राष्ट्रिय औसतभन्दा तल रहेको छ ।
गैरदलित महिलाको राष्ट्रियस्तरको बालविवाह विद्यमानतादर १९.९% भन्दा उच्च अनुपात रहेका दुईओटा प्रदेश पनि मधेस ३०.८% र कर्णाली २५.३% नै रहेका छन् । बाँकी पाँचओटा प्रदेशमा यो राष्ट्रिय औसतको हाराहारी र त्योभन्दा न्यून रहेको छ ।
जन्मदर्तामा दलित अगाडि
नेपालको संविधानको धारा ३९(१) ले प्रत्येक बालक वा बालिकालाई जन्मदर्ताको हक प्रत्याभूति गरेको छ । विद्यालयमा भर्नालगायत राज्यप्रदत्त कतिपय सेवा र सुविधामा जन्मदर्ताको प्रमाणपत्र महत्वपूर्ण मानिन्छ । व्यक्तिगत घटनाका पाँच (जन्म, विवाह, बसाइँसराइ, सम्बन्धविच्छेद र मृत्यु) प्रमुख आयाममध्ये जन्मदर्ताले पनि एक हो । व्यक्तिगत घटना दर्तालाई अनिवार्य गर्ने सरकारको नीति कति हदसम्म प्रभावकारी भयो भनेर यस तथ्याङ्कले आधार प्रदान गर्दछ ।
जनगणना २०७८ ले नेपालका ७४ प्रतिशत पाँच वर्षसम्मका बालबालिकाको जन्मदर्ता भएको देखाएको छ भने करिब एक चौथाइ अर्थात् २६ प्रतिशतले त्यो अधिकारको उपयोग गर्न नसकेको देखिन्छ ।
जन्मदर्ताको सवालमा गैरदलित जातजातिभन्दा दलित जातजाति अगाडि रहेको देखिन्छ । समग्र दलिततर्फ पाँच वर्षभन्दा मुनिका ७८.१ प्रतिशत बालबालिकाको जन्मदर्ता भएको देखिन्छ भने गैरदलित जातजातितर्फ यो मान ७३.२ प्रतिशत मात्र रहेको छ । ‘यो निकै ठुलो अन्तर हो । यसका पछाडि रहेका कारणहरू थप अध्ययनको विषय हुनसक्छन्’, तथ्यांक कार्यालयले प्रतिवेदनमा उल्लेख गरेको छ ।
पहाडी र तराई दलितबिच तुलना गर्दा तराई दलित ७३.९% भन्दा पहाडी दलित ८०.९% बालबालिकाको जन्मदर्ताको स्थिति ७.० प्रतिशत विन्दुले उच्च रहेको छ ।
त्यस्तै, बालबालिकाको संरक्षकत्वको तथ्याङ्कले केही रोचक पाटोलाई उजागर गरेको तथ्यांकले औंल्याएको छ । ‘दलित, गैरदलित, पहाडी दलित र तराई दलितका बिचमा केही दृश्यमान असमानताहरू रहेको छन्’, राष्ट्रिय तथ्यांक कार्यालयको. प्रतिवेदनमा उल्लेख छ, ‘तुलनाका लागि आमाबाबु दुवैसँग बस्ने, आमासँग मात्र बस्ने र अन्य नातेदारसँग बस्ने बालबालिकाको अवस्थालाई पहाडी दलित, तराई दलित र गैरदलित जातजातिअनुसार प्रस्तुत गरिएको छ ।’
आमाबाबु दुवैसँग बस्ने बालबालिकाको सर्वाधिक ८३.०% अनुपात तराई दलिततर्फ देखिएको छ । दोस्रो ७८.५% मा गैरदलित जातजातिका बालबालिका रहेका छन् भने पहाडी दलिततर्फ करिब ७० प्रतिशत बालबालिकाले मात्र आमाबाबु दुवै जनासँग बसोबास गर्ने अवसर पाएको देखिएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।
परिवारमा आमासँग मात्र बसोबास गर्ने बालबालिका पहाडी दलिततर्फ सर्वाधिक २३.४% रहेको छ भने गैरदलित जातजातितर्फ आमासँग मात्र बस्ने बालबालिकाको अनुपात १६.५ प्रतिशत रहेको देखिन्छ । तराई दलिततर्फ करिब १५ प्रतिशत बालबालिका आमासँग मात्र बसोबास गरिरहेको अवस्था छ ।
‘बाबु रोजगारी वा पेसा वा व्यवसाय वा अन्य कारणले बाहिर गएको वा कतिपय परिवारमा भिन्दै बसेको वा मृत्यु भइसकेको कारणले पनि यसप्रकारको अवस्था सिर्जित भएको अनुमान गर्न सकिन्छ जुन थप अध्ययनको विषय हुनसक्छ’, प्रतिवेदनमा औंल्याइएको छ, ‘अन्य नातेदार जसमा हजुरबा, हजुरआमा, सौतेनी बाबुआमा, दिदी दाजु वा त्यसबाहेकका नातेदारसँग बस्ने बालबालिकाको वितरणमा पनि उल्लेख्य विषमता रहेको देखिन्छ ।’
पहाडी दलिततर्फ ४.५ प्रतिशत बालबालिका र गैरदलिततर्फ २.९ प्रतिशत बालबालिका अन्य नातेदारसँग बसोबास गरिरहेको देखिन्छ भने तराई दलिततर्फ यो मान निकै न्यून अर्थात् १.१ प्रतिशत मात्र रहेको छ ।