बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय छात्र–छात्रा (यु–१८) फुटबल प्रतियोगितामा आइतबार तक्षशिला एकेडेमी, हिमालय विद्या निकेतन, ज्ञानज्योति र साइनिङस्टारले विजयी यात्रा कायम गरेका छन् । नेपालगन्ज रंगशालामा सम्पन्न चार खेलमध्ये सबै टोलीले प्रतिस्पर्धात्मक प्रदर्शन गर्दै अन्तिम नतिजा आफ्नो पक्षमा पारेका हुन् ।
दिनको पहिलो खेलमा तक्षशिला एकेडेमीले ब्राइटल्याण्ड माध्यमिक विद्यालयमाथि १–० गोलको कठिन जित निकाल्यो । खेलको एकमात्र तथा निर्णायक गोल तक्षशिलाका सुदिप नेपालीले ४५औँ मिनेटमा गरे । त्यही गोलले टोलीलाई तीन अंक दिलायो । उत्कृष्ट प्रदर्शन गरेका सुदिप प्लेयर अफ द म्याच घोषित भए । उनलाई खेलप्रेमी राकेश गुरुङ र निजामुद्दिन राईले पुरस्कार प्रदान गरे ।
दोस्रो खेलमा हिमालय विद्या निकेतनले जीवनज्योति माध्यमिक विद्यालयलाई १–० गोलले पराजित गर्यो । खेल सुरु भएको पहिलो मिनेटमै लक्ष्मण बस्नेतले गरेको गोल हिमालयका लागि पर्याप्त बन्यो । प्रारम्भिक अग्रता जोगाउँदै हिमालयले जित सुनिश्चित गर्यो । निर्णायक गोलकर्ता लक्ष्मण बस्नेत नै प्लेयर अफ द म्याच घोषित भए । उनलाई बाँके जिल्ला फुटबल संघका कोषाध्यक्ष सानु तामाङले सम्मान गरे ।
त्यसपछि भएको तेस्रो खेलमा कोहलपुरको ज्ञानज्योतिले सिद्धार्थ विद्या सदनमाथि २–० गोलको स्पष्ट जित निकाल्यो । ज्ञानज्योतिका इमरान फौजामगरले १०औँ मिनेटमा पहिलो गोल गरे भने देवराज विकले ४७औँ मिनेटमा अर्को गोल थपे । दुवै गोलले टोलीलाई सहज जित दिलायो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका इमरान फौजामगर प्लेयर अफ द म्याच बने । उनलाई बाँके जिल्ला फुटबल संघका उपमहासचिव दीर्घराज आचार्य तथा नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष निरज गौतमले पुरस्कार प्रदान गरे ।
दिनको अन्तिम खेलमा साइनिङस्टारले अरुणोदय माध्यमिक विद्यालय खजुरामाथि १–० गोलको जित दर्ता गर्यो । साइनिङस्टारका लागि रोनिस थापामगरले ४३औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । सोही गोलको मद्दतमा टोलीले प्रतियोगितामा महत्वपूर्ण सफलता हासिल गर्यो । उत्कृष्ट खेल प्रदर्शन गरेका रोनिस थापामगर प्लेयर अफ द म्याच घोषित भए । उनलाई प्रहरी सहायक निरीक्षक प्रेमसिंह कठायतले पुरस्कृत गरे ।
नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा बाँके जिल्ला फुटबल संघले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा जिल्लाभरका ३७ विद्यालयको सहभागिता रहेको छ ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष तथा एन्फाका केन्द्रीय सदस्य भोजराज शाहीका अनुसार, प्रतियोगिताको विजेता टोलीले ३१ हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेतालाई १६ हजार रुपैयाँ प्रदान गरिनेछ । यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई २ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ ।




























