छापामाध्यमले लोककल्याणकारी विज्ञापनबापत पाउँदै आएको रकममा भारी कटौती गर्ने गरी सरकारले संशोधित कार्यविधि लागू गरेपछि नेपाल पत्रकार महासंघ आन्दोलनमा उत्रिने भएको छ । कार्यविधि खारेजीको माग गर्दै महासंघले आज सोमबारदेखि देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ ।
यसैक्रममा बाँकेमा पनि जिल्ला हुलाक कार्यालयलाई लोककल्याणकारी विज्ञापनको बिल नबुझ्न आग्रह गर्दै आजै सोमवार ज्ञापनपत्र बुझाउने तयारी गरिएको महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले बताएका छन् ।
सूचना तथा सञ्चार मन्त्रालयले छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी पहिलो संशोधन कार्यविधि, २०८३ जारी गर्दै पत्रपत्रिकाले विज्ञापनबापत प्राप्त गर्दै आएको रकममा कटौती गरेको हो । उक्त निर्णयप्रति असहमति जनाउँदै आएको महासंघले कार्यविधि खारेज गरी पुरानै व्यवस्था कायम गर्न माग गर्दै आएको छ ।
महासंघले माग सम्बोधनका लागि सूचना तथा सञ्चारमन्त्रीसमक्ष भदौ २५ गते ध्यानाकर्षण गराएको थियो । त्यसअघि नै भदौ २१ गते विज्ञापन बोर्डलाई पत्राचार गर्दै समस्या समाधान नभएसम्म लोककल्याणकारी विज्ञापनको बिल नबुझ्न आग्रह गरिएको थियो । तर, दुवै मागको सुनुवाइ नभएको महासंघको भनाइ छ ।
महासंघका अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा शुक्रबार सरोकारवालासहित बसेको बैठकले तीन दिनभित्र माग पूरा नभए आन्दोलनमा जाने निर्णय गरेको हो । सोही निर्णयअनुसार सोमबारदेखि देशव्यापी आन्दोलनका कार्यक्रम अघि बढाइने महासंघले जनाएको छ ।
लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय पुनर्विचार गर्नुपर्ने आधारसमेत महासंघले अघि सारेको छ । महालेखापरीक्षकको कार्यालयले लोककल्याणकारी विज्ञापनमा बेरुजु नदेखाएको र प्रेस काउन्सिल नेपालले विज्ञापनको रकम हेरफेर तथा वृद्धि गर्न सिफारिस गरेको विषयलाई महासंघले आफ्नो मागको आधार बनाएको छ ।
महासंघले संवादबाट समस्या समाधान नभए बैठकको निर्णयअनुसार पहिलो चरणमा विभिन्न कार्यक्रमसहित देशव्यापी आन्दोलन अघि बढाउने जनाएको छ । आन्दोलनमा सहभागी हुन महासंघअन्तर्गतका सबै समिति र सरोकारवालालाई आह्वानसमेत गरिएको छ ।
बाँकेमा पनि संशोधित कार्यविधिविरुद्ध विरोधका कार्यक्रम अघि बढाइने महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले बताएका छन् । उनका अनुसार सोमबार जिल्ला हुलाक कार्यालयमा लोककल्याणकारी विज्ञापनको बिल नबुझ्न आग्रह गर्दै ज्ञापनपत्र बुझाइनेछ ।






























