नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकलाई सहज दूरसञ्चार सेवा उपलब्ध गराउने र प्रमुख राजमार्गमा सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छताको पूर्वाधार विकास गर्ने उद्देश्यले एनसेल र नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्सबीच साझेदारी भएको छ । सहकार्यले पर्यटकको सञ्चार पहुँच सहज बनाउनुका साथै नेपालमा दिगो र जिम्मेवार पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
साझेदारीअन्तर्गत एनसेलले नेपाल भ्रमणमा आउने पर्यटकलाई भरपर्दो मोबाइल कनेक्टिभिटी उपलब्ध गराउनेछ । नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्सले भने देशभर रहेका आफ्ना ट्राभल अपरेटरहरूको सञ्जालमार्फत पर्यटकलाई एनसेलका सेवा तथा सुविधाबारे जानकारी दिनेछ । यसबाट नेपाल भ्रमणमा आएका विदेशी पर्यटकलाई आफ्नो यात्राभर परिवार, साथीभाइ तथा अन्य व्यक्तिसँग सम्पर्कमा रहन सहज हुने अपेक्षा गरिएको छ ।
दुई संस्थाबीचको सहकार्यसम्बन्धी समझदारीपत्रमा बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा हस्ताक्षर भएको हो । एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपाङ्ग दत्ता र नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्सका अध्यक्ष विश्वेश श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपालका विभिन्न क्षेत्रमा भ्रमण गर्ने पर्यटकका लागि सञ्चार सेवा महत्वपूर्ण आवश्यकता हो । यही आवश्यकतालाई ध्यानमा राखेर गरिएको सहकार्यले विदेशी पर्यटकलाई नेपालमा रहँदा सञ्चार सेवाको सहज पहुँच उपलब्ध गराउने लक्ष्य राखेको छ। पर्यटकले आफ्नो यात्राका क्रममा परिवार र साथीभाइसँग निरन्तर सम्पर्क कायम राख्न सक्ने वातावरण निर्माणमा साझेदारीले सहयोग गर्नेछ ।
समझदारीपत्रमा हस्ताक्षरपछि एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत दत्ताले देशभर फैलिएको एनसेलको नेटवर्क र पर्यटन क्षेत्रमा नाटोको पहुँचलाई सहकार्यको आधारका रूपमा व्याख्या गरे । उनले यसले नेपाल आउने पर्यटकको यात्रा अनुभवलाई थप सहज र स्मरणीय बनाउने विश्वास व्यक्त गरे ।
‘देशभर फैलिएको एनसेलको व्यापक नेटवर्क र पर्यटन क्षेत्रमा नाटोको विविधतायुक्त पहुँचलाई उपयोग गर्दै यो साझेदारीले नेपाल आउने पर्यटकहरूको यात्रा अनुभव अविस्मरणीय बनाउने विश्वास लिएका छौं,’ दत्ताले भने, ‘यति मात्र होइन, यो साझेदारीले ‘नेपाल कलिङ’ अभियानलाई प्रवद्र्धन गर्न र नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न पनि महत्वपूर्ण भूमिका खेल्नेछ ।’
नाटोका अध्यक्ष श्रेष्ठले पर्यटनको मूल भावना नै मानिस, संस्कृति र अनुभवलाई एकअर्कासँग जोड्नु रहेको बताए। नेपाल आउने यात्रुलाई भ्रमण अवधिभर सबैसँग सम्पर्कमा रहन सहयोग पुग्ने भएकाले एनसेलसँगको सहकार्य अर्थपूर्ण रहेको उनको भनाइ थियो ।
‘पर्यटनको मर्म भनेकै एकअर्कासँग जोडिनु हो । मानिसहरूलाई मानिसहरूसँग जोड्नु, संस्कृति अनि अनुभवहरूलाई जोड्नु हो,’ श्रेष्ठले भने, ‘नेपाल आउने हरेक यात्रुलाई आफ्नो यात्राभर सबैसँग सम्पर्कमा रहिरहन मद्दत गर्ने एनसेलसँगको यो अर्थपूर्ण सहकार्यले हामी उत्साहित छौँ ।’
दूरसञ्चार सेवामा सहकार्य सीमित नराखी एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत नाटोलाई राजमार्गमा आवश्यक पूर्वाधार विकासमा समेत सहयोग गर्ने भएको छ । एनसेल फाउन्डेसनमार्फत नाटोलाई प्रमुख राजमार्गहरूमा आधुनिक वास पूर्वाधार स्थापना गर्न सहयोग गरिनेछ । सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी उक्त परियोजना धादिङ जिल्लाको गजुरीबाट नमुना परियोजनाका रूपमा सुरु हुनेछ ।
राजमार्गमा यात्रा गर्ने पर्यटक र स्थानीय समुदाय दुवैलाई लक्षित गरी अघि बढाइने यस पहलले यात्राका क्रममा आवश्यक पर्ने खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी सुविधाको बढ्दो मागलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ । परियोजनाले राजमार्गमा यात्रा गर्नेहरूलाई आवश्यक सुविधा उपलब्ध गराउनुका साथै स्थानीय समुदायलाई समेत लाभ पु¥याउने लक्ष्य राखेको छ ।
एनसेल र नाटोबीचको यो सहकार्यले नेपालको पर्यटन क्षेत्रलाई थप व्यवस्थित र पर्यटकमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । पर्यटकको सञ्चार पहुँच विस्तारदेखि राजमार्गमा आधारभूत सुविधाको विकाससम्मका गतिविधिमा दुवै संस्थाले सहकार्य गर्नेछन् । यसले नेपालमा दिगो तथा जिम्मेवार पर्यटन विकास गर्ने दुवै संस्थाको साझा प्रतिबद्धतालाई पनि प्रतिबिम्बित गरेको छ ।





























