दाङका विभिन्न स्थानमा रहेका सामुदायिक वन तथा जंगलका झाडीमा लुकाइछिपाइ राखिएका १४ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार विशेष सूचनाका आधारमा मिति २०८३ कात्तिक १७ गते बिहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन गरिएको विशेष अप्रेसनका क्रममा ती बन्दुक बरामद गरिएको हो।
प्रहरीका विभिन्न टोलीले जिल्लाका बबई, बंगलाचुली, गढवा र लमही क्षेत्रका जंगल तथा सामुदायिक वनमा खोजतलास गर्दा बन्दुक फेला पारेका हुन्।
इलाका प्रहरी कार्यालय हापुरेको टोलीले बबई गाउँपालिका–५ खयरभट्टीस्थित सिमौरा सामुदायिक वनबाट पाँच नाल, इलाका प्रहरी कार्यालय कमिरेचौरको टोलीले बंगलाचुली गाउँपालिका–२ स्थित सुनछहरी सामुदायिक वनबाट एक नाल र प्रहरी चौकी हाँसिपुरको टोलीले बंगलाचुली गाउँपालिका–८ पाँचपोखरीस्थित न्यू कालिका सामुदायिक वनबाट एक नाल बन्दुक बरामद गरेको छ।
त्यसैगरी, प्रहरी चौकी पुरन्धाराको टोलीले बबई गाउँपालिका–२ स्थित सुवाखोरे सामुदायिक वनबाट एक नाल तथा अस्थायी प्रहरी पोस्ट कालाकाटेको टोलीले गढवा गाउँपालिका–१ रौसिङखोलाको बगर नजिकको झाडीबाट पाँच नाल भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ। कालाकाटे क्षेत्रबाट बरामद पाँच बन्दुकमध्ये चार नाल साबुत र एक नाल बेसाबुत अवस्थामा थिए।
यस्तै, अस्थायी प्रहरी पोस्ट नर्तिको टोलीले लमही नगरपालिका–३ स्थित नारायणस्वर सामुदायिक वनबाट थप एक नाल बन्दुक बरामद गरेको छ।
बरामद गरिएका सबै १४ नाल भरुवा बन्दुक अवैध रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिएका छन्।






























