सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेको हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
नेपाल प्रहरीका अनुसार मंगलबार बिहान करिब ८ बजेर ११ मिनेटमा फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा फिस्टेल एयरको हेलिकप्टरमा चालक दलसहित तीन जना सवार थिए। दुर्घटनामा भारतको तमिलनाडु राज्यस्थित चेन्नई घर भएका अन्दाजी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव प्रभु एयरको हेलिकप्टरमार्फत लुक्लास्थित बिसुगार्ड ल्याइएको छ।
दुर्घटनामा न्युजिल्यान्डका अन्दाजी ४९ वर्षीय सेलिशकुमार पटेल, फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति र डाइनेस्टी एयरका पाइलट प्रजल केसी घाइते भएका छन्।
घाइतेमध्ये पटेल र पाइलट प्रजापतिलाई प्रभु एयरको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल पठाइएको छ। डाइनेस्टी एयरका पाइलट केसीको भने लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
हेलिकप्टर दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।






























