नेपालमा सशस्त्र द्वन्द्व अन्त्य गर्दै शान्ति प्रक्रियाको सुरुवात भएको विस्तृत शान्ति सम्झौता सम्पन्न भएको दुई दशक पुग्दा पनि द्वन्द्वपीडितले न्याय र परिपूरणको अनुभूति गर्न सकेका छैनन् । तत्कालीन नेपाल सरकार र नेकपा (माओवादी) बीच २०६३ मंसिर ५ गते भएको सम्झौताले देशमा शान्ति, लोकतन्त्र र राजनीतिक स्थायित्वको नयाँ आधार तयार गरे पनि द्वन्द्वका क्रममा भएका मानवअधिकार उल्लंघनका घटनाको सत्यतथ्य सार्वजनिक गर्ने र दोषीलाई जवाफदेही बनाउने काम अझै अधुरै छ ।
विस्तृत शान्ति सम्झौताको बीस वर्ष, संक्रमणकालीन न्यायको अवस्था र पीडितको अपेक्षाका विषयमा राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालय र एड्भोकेसी फोरम नेपालको संयुक्त आयोजनामा नेपालगन्जमा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा द्वन्द्वपीडितहरूले न्याय पाउनेमा आशंका व्यक्त गर्दै निराशा व्यक्त गरेका थिए । पीडितहरूले आफ्ना पीडा सुनाउँदै बिस्तृत शान्ति सम्झौता गर्ने तत्कालीन सरकारहरूले समेत पीडितलाई बेवास्ता गर्दा न्याय पाउन नसकेको बताएका थिए ।
‘बिस्तृत शान्ति सम्झौता गर्नेहरू सरकारमा हुँदा आयोग बनाउने र पीडितलाई अल्मल्याउने काम मात्रै भयो, शान्तिपूर्ण आवाज सुनिएन, अब न्यायका लागि पीडित एकजुट भएर कडा आन्दोलन नगर्ने हो भने सुनुवाई हुन्छ भन्नेमा विश्वास लाग्छ छाडेको छ’, द्वन्द्व पीडितहरूले भने, ‘जुनसुकै सरकार आएपछि पछिल्ला सरकारले गरेका सम्झौताको अपनत्व लिंदै कार्यान्वयनमा लग्नु पर्ने हो ।’
‘बिस्तृत सम्झौतापछि मुलुकमा राजनीतिक परिवर्तन, संविधान निर्माण र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भए पनि द्वन्द्वपीडितका लागि न्याय प्रक्रिया भने अपेक्षाअनुसार अघि बढ्न सकेको छैन’, एड्भोकेसी फोरम नेपालका बसन्त गौतमले भने, ‘आफ्ना आफन्त गुमाएका, बेपत्ता पारिएका तथा यातना र अन्य गम्भीर मानवअधिकार उल्लंघनबाट प्रभावित भएका नागरिक अझै सत्य, न्याय र सम्मानजनक जीवनको प्रतीक्षामा छन् ।’ संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउन गठन गरिएका सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग प्रभावकारी रूपमा अघि बढ्न नसक्दा पीडितको न्याय पाउने आशा कमजोर बन्दै गएको उनको भनाइ थियो । ‘तर, न्यायका लागि आवाज उठाउनु छाड्नु हुँदैन’, उनले भने ।
द्वन्द्वका क्रममा बेपत्ता पारिएका आफन्तको अवस्था सार्वजनिक हुन नसक्नु पीडित परिवारका लागि सबैभन्दा ठूलो पीडा बनेको छ । आफन्त जीवित छन् वा छैनन् भन्ने जानकारीसमेत नपाएका परिवार लामो समयदेखि राज्यसँग जवाफ मागिरहेका छन् ।
कतिपय परिवारले आफ्ना सदस्यको खोजीका लागि वर्षौंदेखि विभिन्न निकाय धाए पनि परिणाम पाउन सकेका छैनन् । द्वन्द्वका क्रममा हत्या, यातना, बेपत्ता, यौन हिंसा तथा अन्य मानव अधिकार उल्लंघनबाट प्रभावित परिवारले न्यायसँगै उचित क्षतिपूर्ति, सामाजिक सुरक्षा र सम्मानजनक जीवनको माग गरिरहेका छन् ।
कार्यक्रममा द्वन्द्वपीडित विन्दा खरेल पाण्डे, अशोक सोडारी, युवराज गिरी, लालबहादुर ओली, अलिबहादुर कार्की, कौशिला कार्की र कमल कुँवरले द्वन्द्वकालमा भोग्नुपरेका पीडा, त्यसले आफ्नो परिवार र व्यक्तिगत जीवनमा पारेको प्रभाव तथा न्याय प्राप्तिका लागि वर्षौंदेखि गर्नुपरेको संघर्षबारे अनुभव सुनाएका थिए । उनीहरूले द्वन्द्वका क्रममा भोगेका यातना र क्षतिको पीडा अझै कम हुन नसकेको बताउँदै न्याय पाउने आशामा लामो समय बितिसक्दा पनि राज्यबाट अपेक्षित सम्बोधन हुन नसकेको गुनासो गरे । द्वन्द्वपीडितका समस्या केवल क्षतिपूर्तिमा सीमित नरहेको उल्लेख गर्दै उनीहरूले सम्मानजनक पुनःस्थापना, नियमित औषधोपचार, जीविकोपार्जनको व्यवस्था र न्यायिक निरूपणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालय प्रमुख अधिकारीले संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पु¥याउँदा पीडितको अधिकार र न्यायको सुनिश्चिततालाई केन्द्रमा राख्नुपर्ने बताइन् । उनले द्वन्द्वपीडितले लामो समयदेखि न्यायको प्रतीक्षा गरिरहेको अवस्थामा उनीहरूको पीडा र अपेक्षालाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने धारणा राखिन् ।
राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज कार्यालय प्रमुख द्वारिका अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगन्ज उच्च अदालत बारका अध्यक्ष पवनकुमार गुप्ता, जिल्ला बार अध्यक्ष पुनम श्रेष्ठ, अधिवक्ता विश्वजित तिवारी, सुरेश गौतम, प्रभातकुमार ठकुरी लगायतले संक्रमणकालीन न्याय प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउनुको विकल्प नरहेको बताएका थिए ।





























