नेपालगन्ज आसपासका बजारमा रहेका मिठाई व्यवसायीहरुलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह गरिएको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर सम्वन्धि मिठाई तथा होटेल व्यवसायीहरुसँगको अन्तरक्रियामा मिठाईको नाम, मुख्य समिश्रण, तेल, घिउको प्रकार, उपभोग मिति र मूल्य सूचि खुलाउन समेत व्यवसायीहरुलाई अनुरोध गरिएको छ ।
सो अवसरमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी अमर बहादुर वलीले म्याद नाघेका सामग्री भण्डारण नगर्न व्यवसयाीहरुलाई आग्रह गर्दै कैफियत भेटिए कारवाही हुने चेतावनी दिनुभयो ।
उहाँले मिठाई पसलमा फोहोरको व्यवस्थापन, खानेपानीको व्यवस्थापनका विषयमा सम्झौता नहुने उल्लेख गर्दै विभागको निर्देशनलाई सबैले पालना गर्न आवशयक रहेको धारणा व्यक्त गर्नुभयो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, बाँकेका प्रमुख सुमन धितालले मिठाई व्यवसायाीहरुलाई आगामी सोमबारभित्र लेबल लगाउनका लागि जिल्लामा अन्तिम मिति तय भएको जानकारी दिदै लेबल नलगाएको पाइएमा कारवाहीको दायरामा ल्याइने बताउनुभयो । उहाँले भन्नुभयो “नेपालगन्जको राबडी जस्तै यहाँका मिठाई व्यवसायीहरुले ख्याती प्राप्त गर्नुहुने विश्वास छ” प्रमुख धितालले नेपालगन्जको द केक एण्ड बेकरीबाट लेबल लगाउन सुरु गरिएको समेत जानकारी दिनुभयो ।
नेपालगन्ज उद्योग बाणिज्य सङ्घकी उपाध्यक्ष रुपा ओझाले नेपालगन्जमा दक्ष र अनुभवी मिठाई व्यवसायी भएपनि परम्परागत भएको उल्लेख गर्दै मिठाई व्यवसायीले लेबल राखेर बेचविखन गर्दा व्यवसायीको प्रतिष्ठा बढने उल्लेख गर्नुभयो ।
अन्तरक्रियामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्जका खाद्य अनुसन्धान अधिकृत रामहरी लामिछानेले मिठाई व्यवसायीलाई खाद्य स्वच्छताबारे जानकारी दिदै कानूनी अवस्थाबारे बताउनुभयो ।
खाद्य अनुसन्धान अधिकृत नेत्रा बोगटीले विगतमा भन्दा अहिले मिठाई पसलमा सुधार आएको उल्लेख गर्दै अझै पनि फोहोर व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो ।
मिठाई व्यवसायी अतुल कुमार गुप्ताले नेपाल सरकारले तोकेको मापदण्ड अनुसार व्यवसायीले काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै यसबाट उपभोक्ता सहित सबैले लाभ पाउने बताउनुभयो ।
व्यवसायीहरुले आफुले उत्पादन गरेको मिठाई कुन कुन कच्चा पदार्थको मिश्रणबाट बनेको लगायतका विवरण उपभोक्ताले देख्ने गरी सोकेस वा काण्टरमा राख्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कात्तिक ११ गतदेखि नै लागू हुने गरी सूचना जारी गरेको थियो ।






























