बाँके जिल्ला अदालतले एक बर्षको अवधीमा ४ हजार २ सय १५ मुद्दा फछ्यौट गरेको छ । शुक्रबार पत्रकार माझ मुद्दाको बार्षिक प्रगति विवरण सुनाउदै जिल्ला न्यायाधीश भिष्मराज प्रसाईले गत बर्षको जिम्मेवारी सरेका ३ हजार २ सय ३० र एक आर्थिक बर्षको अवधीमा नयाँ दर्ता भएका ४ हजार ४ सय १७ मुद्दा गरि जम्मा लगत ७ हजार ६ सय ४७ भएकोमा ४ हजार २ सय १५ वटा मुद्दा फछ्यौट गरिएको जानकारी दिए । अदालतले ५ हजार ८१ मुद्दा फछ्यौट गर्ने लक्ष्य राखेकोमा ५५ दशमलव ११ प्रतिशत मुद्दा फछ्यौट गर्न सफल भएको न्यायाधीश प्रर्साइले बताए । २ बर्ष भित्रका १ सय ७२ र २ बर्ष नाघेका ७४ मुद्दा बिचराधिन रहेको जानकारी न्यायाधीश प्रसाईले दिए । जिल्ला अदालत बाँकेमा गत असार मसान्तसम्म ३ हजार ४ सय ३२ मुद्दा बिचाराधिन रहेका छन् ।
बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश प्रसाईले बार्षिक प्रगति विवरण सार्वजनिक गर्दै भने, ‘अदालतले लक्ष्यको ८२.९५ प्रतिशत मुद्दा फछ्यौट गरेका छौं ।’ उनले बिभिन्न प्राविधिक कारणले शतप्रतिशत लक्ष्य हासिल गर्न नसकेता पनि अदालतको मुद्दा फस्र्यौट प्रतिशत सन्तोषजनक रहेको बताए ।
जिल्ला अदालतले बिदाको दिन समेत गणना गर्ने हो भने प्रतिदिन करिब १२ वटा मुद्दा फैसला गरेको देखिन्छ । अदालतमा हाल ८ जना न्यायाधीशको दरबन्दी रहेपनि ७ वटा न्यायाधीश मात्रै कार्यरत रहेका छन् ।
‘पुराना मुद्दा फैसला प्राथमिकतामा’

बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश भिष्मराज प्रसाईले पुराना मुद्दाको फैसलालाई प्राथमिकता दिइएको बताएका छन् । उनले गत आ.व. २०८०÷०८१ को अन्त्यसम्म २ बर्ष नाघेका ७४ मुद्दा मात्रै फस्र्यौट गर्न बाँकी रहेको जानकारी दिए ।
चालु आ.व.का लागि जिम्मेवारी सरेर आएको ३ हजार ४ सय ३२ मध्ये २ बर्ष नाघ्न लागेका तथा नाघेका ८ सय ७० वटा मुद्दा मात्रै फस्र्यौट बाँकी रहेका छन्’, जिल्ला न्यायाधीश प्रसाईले भने, आगामी आ.व.को अन्त्य सम्म २ बर्ष नाघ्ने मुद्दाको संख्या ७ सय १८ मात्रै रहेको छ ।’ चालु आ.व.मा २ बर्ष नाघेका ७४ मुद्दा मात्रै सरेर आएका छन् ।
जिल्ला अदालतबाट न्याय सम्पादनमा भएका प्रयासहरू सञ्चारमाध्यममा आउँदा आमनागरिकले पनि त्यसको सूचना पाउने बताएका जिल्ला न्यायाधीश प्रसाईले न्याय सम्पादनका लागि सर्वोच्च अदालतको नीति अनुसार मुद्दाको वर्गीकरण गरी न्याय सम्पादनको अघि बढाईएको जानकारी दिए ।
जिल्ला न्यायाधीश प्रसाईले मुद्दालाई तीन वर्गमा विभाजन गरेर मुद्दाको सुनुवाई भैरहेको बताए । सरल, सामान्य, विशेष गरी मुद्दाको वर्गीकरण गरेर सुनुवाई भैरहेको छ’, जिल्ला न्यायाधीश प्रसाईले भने, ‘डिसिएम (फरक मुद्दाको व्यवस्थापन पद्धति) पछि मुद्दाको सुनुवाई सहज भएको छ ।’
चालु आ.व. २०८१÷०८२ मा सरल मुद्दा १ हजार २ सय ५५, सामान्य १ हजार ७ सय ५३, विशेष ४ सय २४ जिम्मेवारी सरेर आएको जिल्ला अदालत बाँकेको तथ्यांक रहेको छ ।
अदालती मेलमिलाप न्यून
बाँके जिल्ला अदालतमा एक बर्षको अवधीमा ५ हजार ९ सय ८४ मुद्दा मेलमिलापमा पठाइएकोमा १ सय ७९ मुद्दा मात्रै सफल भएको पाइएको छ । मेलमिलापमा पक्षहरू नै अनिच्छुक रहेकोले मेलमिलाप सफल हुन नसकेको जिल्ला न्यायाधीश भिष्मराज प्रसाईले जानकारी दिए । कुनै मुद्दामा बादी र कुनैमा प्रतिवादी अनिच्छुक भएको र कतिमा पक्षहरू बिच कुरा नमिलेकाले मेलमिलाप सफल हुन नसकेको न्यायाधीश भिष्मराज प्रर्साइको भनाइ छ ।
स्वचालित मेसिन मार्फत तारेख
साउन १ गते देखि बाँके जिल्ला अदालतले अटो स्वचालित मेसिन द्वारा पेशी र तारेख दिने ब्यवस्था मिलाईएको छ । पत्रकार भेटघाटका क्रममा जिल्ला न्यायाधीश भिष्मराज प्रसाईले तारेख दिदा हुन सक्ने अनियमितता रोक्न बाँके लगायत देशै भरिका अदालतमा अटोमेसिनद्धारा तारेख र पेशीको तारेख तोक्ने ब्यवस्था मिलाईएको न्यायाधीश प्रसाईले जानकारी दिए ।
लागु औषधका मुद्दा धेरै
बाँकेमा लागु औषध दुब्र्यसनीको संख्या बढ्दै गएको सन्दर्भमा लागु औषध मुद्दा बढी भएको पाइएको छ । बर्षभरिमा बाँके जिल्ला अदालतमा दर्ता भएका मुद्दा हेर्दा बढी मात्रामा लागु औषध भएको पाईएको छ । यो तथ्याङ्कले यसको रोकथाममा सरोकारवाला पक्ष गंभिर बन्नु पर्ने पाईएको छ । लागु औषध पछि जवरजस्ती करणी, ज्यान मार्ने उद्योग, सवारी ज्यान, बैंकिङ्क कसुर, सम्बन्ध बिच्छेद, अंश लगायत रहेको पत्रकार भेटघाटका क्रममा जिल्ला न्यायाधीश भिष्मराज प्रसाईले जानकारी दिए ।
पत्रकार भेटघाट कार्यक्रममा जिल्ला न्यायाधीश प्रसाईका साथै न्यायाधीशहरू इन्द्र बहादुर कठायत र दिपक घिमिरेका साथै श्रेष्तेदार गोबिन्द आचार्य लगायतको उपस्थिति रहेको थियो ।
महिला बालबालिका र जेष्ठ नागरिकका मुद्दामा अदालत संवेदनशिल ः महिला बालबालिका र जेष्ठ नागरिकका मुद्दामा अदालत संवेदनशील रहेको बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश भिष्मराज प्रसाईले बताएका छन् ।
मुद्दाको बार्षिक बिवरण बारे जानकारी दिने क्रममा जिल्ला न्यायाधीश प्रसाईले कानूनी बिवादमा पर्ने बालक र बालिका दुवैलाई समानान्तर रूपमा बिचार गरि न्याय सम्पादन गर्ने गरिएको, घरेलु हिंसा लगायतका मुद्दामा अन्तरिम क्षतिपुर्तिका आदेश गरिएको, बालबालिकाका ६ मुद्दामा सजाय स्थगत गरिएको न्यायाधीश प्रसाईले बताए ।
बाँके जिल्ला अदालतद्धारा ५ कर्मचारीलाई प्रशंसापत्र प्रदान
बाँके जिल्ला अदालतले आफ्ना ५ कर्मचारी प्रशंसापत्र प्रदान गरेको छ । प्रशंसापत्र प्रदान पाउनेमा अदालतका शाखा अधिकृत नितु साहुँ, नासु द्वय प्रकाश बहादुर सिंह र कल बहादुर बुढा, तामेलदार सुरत प्रसाद नाउँ र कार्यालय सहायक राम नारायण गडरिया रहेका छन् ।
आर्थिक बर्ष २०८०÷०८१ मा उत्कृष्ट कार्य गरे वापत कर्मचारीलाई उत्प्रेणा दिने उद्देश्यका साथ नगद र प्रमाण सहित प्रशंसापत्र प्रदान गरिएको अदालतका श्रेस्तेदार गोबिन्द आचार्यले बताए ।































