साउनको पहिलो सोमबार (आज) देशभरका शिवालयमा भक्तजनहरुको भीड लागेको छ।
आज बिहानैदेखि देशभरका शिव मन्दिरमा भक्तालु जनहरुको पूजा, अर्चनाका लागि भीड लागेको हो।
साउन महिना विशेष गरेर आशुतोष भगवान (महादेव) को प्रिय महिना भएकोले साउनको सोमबार विशेष पूजा आराधना गर्ने गरिन्छ। सोमबारका दिन पूजा आराधना र अर्चना गर्नाले मनोवाञ्छित कामना सिद्ध हुने विश्वास रही आएको छ।
हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीमा भगवान विष्णु क्षीर सागरमा सुतेपछि हरिबोधिनी एकादशीसम्म भगवान शिवले श्रृष्टि सञ्चालनको जिम्मा लिन्ने शास्त्रोक्त कथन छ।
सात्विक खानपान र हरियाली चुरा पोते जस्ता सौभाग्यको साथमा मनाइने साउने सोमबार आजबाट शुरु भएको छ। सूर्य दक्षिणायनपछि विशेष चार्डपर्वको शुरुवातको संकेत गर्ने पूर्वीय संस्कृतिमा साउने सोमबार आफैँमा विशेष महत्वको महिना हो।
पार्वतीले साउन महिनाभर निराहार रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको शास्त्रमा वर्णित भएकोले महिलाहरूले यसलाई बढी महत्व दिन्छन्। महिनाको अरू दिन नसके पनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुशी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ।
साउने सोमबारका दिन भगवान शिवको विशेष पूजाआराधना गर्ने परम्परा छ। ज्योतिष शास्त्रानुसार सोमबारको स्वामी भगवान शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ। अझ यो महिनाको सोमबार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ।
यस दिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ । हस्ता नक्षत्रयुक्त सोमबारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ। साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ।
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.