बर्दियाका चार युवा बुधवार लागुऔषध ओसारपसारका क्रममा प्रहरी फन्दामा परे । एकै दिन एक फरक ठाउँबाट लागु औषध ब्राउनसुगरसहित पक्राउ परेका ती युवाको अवस्थाबाट बर्दियाका युवाहरु दुव्र्यसनमा फँसेको प्रष्ट हुन्छ ।
बढैयाताल गाउँपालिका–२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम, नगद २२ हजार ५ सय रूपैयाँ र मोबाइल २ थान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–१ ठूलो डाँफे बस्ने ३५ वर्षीय सुमित शाही र ३० वर्षीय अनिल थापा रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ परेका थिए ।
बुधवारनै, बर्दिया, बारबर्दिया नगरपालिका–४ कुसुम्वाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्राम, नगद ३ हजार ६ सय ४६ रूपैयाँ र मोबाइल २ थान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार, पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका–८ कोकिया गाउँ बस्ने २५ वर्षीय दिनेश चौधरी र सोही नगरपालिका–७ खाले गुलेरिया बस्ने २२ वर्षीय राजकुमार अहिर रहेका छन् । इलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
‘बर्दियाका युवाहरु डरलाग्दो गरि लागु औषधको दुव्र्यसनमा फँसिरहेका छन्,’ थारु कल्याणकारी समाज बर्दियाका अध्यक्ष बिरु चौधरी भन्छन्, ‘हाम्रो समाजमा लागु औषधको समस्या भयावह ढंगले देखा पर्दैछ ।’ हरेक दिनजसो प्रहरीदेखि अदालतसम्म लागुऔषध ओसारपसार र कुलतमा फँसेका युवाहरु देखेर गम्भीर चिन्ता लागेको सुनाउँदै युवा अभियन्ता चौधरीले भने, ‘तत्कालै युवा रोजगारी र सचेतनामा अभियान चलाउन आवश्यक छ ।’