नेपालगन्ज उपमहानगरपालिकाको विपद पूर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधिकका लागि क्षेत्रगत (क्लष्टर) छलफल गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको विपद पूर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधिकका लागि विषयगत क्षेत्रको अन्तरक्रिया गरिएको हो । नेपालगन्ज उपमहानगरपालिकाभित्र ८ वटा क्लष्टर छन् । खानेपानी तथा सरसफाई, आवास तथा गैरखाद्य, स्वास्थ्य र पोषण, समन्वय तथा खोज उद्दार, संरक्षण तथा सामाजिक सुरक्षा, खाद्य, शिक्षा र पुन: लाभ तथा पुन: निर्माण गरी ८ क्लष्टर छन् ।
विद्यमान योजनाको समिक्षा गर्दै समयसापेक्ष बनाउन अद्यावधिकका लागि समूहगत छलफल गरिएको छ । समूह कार्यमा गत वर्षको योजना अद्यावधिक कार्य, योजनामा समावेश राम्रा पक्षहरु, योजनामा समावेश गर्न सकिएको पक्षहरुमा छलफल भएको छ । सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को संयोजनमा कार्यक्रम सम्पन्न गरिएको हो ।
आपतकालीन तयारीमा सुधार, समयमै उद्धार र राहत, स्रोत व्यवस्थापन, स्थानीय जनताको सुरक्षा, नीतिगत र कानुनी माग पूरा गर्न तथा समन्वय र सहकार्यका लागि विपद पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण गरिएको छ । विपद जोखिमलाई न्यूनीकरण तथा व्यवस्थापन गर्न, जोखिमयुक्त क्षेत्रहरुको पहिचान गर्न, प्रतिकार्य क्षमता पहिचान तथा अभिवृद्धि गर्न योजनाको प्रभावकारिता रहने आपतकालीन कार्यसंचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । जेड्सीलाई प्राथमिकता राखी योजना अद्यावधिक गरिने ज्ञवालीले बताए ।
कार्यक्रम नेपालगन्ज उपमहानगरपालिका विपद समिति संयोजक समिर प्रताप सिंहको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नगर प्रवक्ता प्रमोद रिजाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्ख बहादुर थापा लगायत विषयगत समिति संयोजकहरु, शाखा-महाशाखा प्रमुख, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता थियो । कार्यक्रमको उद्देश्यबारे नेपालगन्ज उपमहानगरपालिकाका विपद फोकल पर्सन दिपेन्द्र श्रेष्ठले प्रकाश पारेका थिए । सुपरका राजु अधिकारीले विपद पूर्व तयारी तथा प्रतिकार्य योजनाको बारेमा प्रस्तुतिकरण गरेका थिए ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवम् सिडिएम नेपालको प्राविधिक सहयोगमा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले नेपालगन्ज उपमहानगरपालिकाभित्र विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ ।