अन्तर्राष्ट्रिय महिला ट्वान्टी–२० शृंखलाको आफ्नो दोस्रो खेलमा नेपाल विजयी भएको छ ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ ‘विकेट’ले पराजित गर्दै जित हासिल गरेको हो ।
यससँगै यो शृंखलामा नेपालले पहिलो जित दर्ता गराएको छ । यसअघि नेपाल मलेसियासँग पहिलो खेलमा तीन ‘रन’ले पराजित भएको थियो ।
आज मलेसियाले जितका लागि दिएको ९२ रनको लक्ष्य पच्छ्याएको नेपालले १६.२ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
नेपालका लागि पूजा महतोले सर्वाधिक ३९ रन बनाइन् । कप्तान इन्दु बर्मा २७ रनमा अविजित रहिन् भने रुबी पोद्दारले १५ रन बनाइन् ।
मलेसियाकी आयना हमिजाले दुई विकेट लिइन् भने नुर दानिया स्युहादा र नुर आलियाले समान एक/एक विकेट लिए ।
त्यसअघि ‘टस’ हारेर पहिले ‘ब्याटिङ’को निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ९१ रनको योगफल बनाएको थियो । मलेसियाका लागि आइना हमिजाले सर्वाधिक ५० रन बनाएकी थिइन् । त्यस्तै कप्तान विनिफ्रेड दुरासिंघमले १५ रन बनाइन् ।