बाँकेका आठ वटै स्थानीय तहले विपद् जोखिम न्यूनीकरणका लागि नीतिगत व्यवस्था गरेका छन् । उनीहरूले कोष स्थापना गरी त्यसमा रकम समेत राखेका छन् ।
‘स्थानीय तह पनि आउने विपद्जन्य घटनाको पूर्व तयारीमा रहेको उनीहरूले गरेको नीतिगत व्यवस्थाले देखाउँछ’, जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका फोकल पर्सन रूपन ज्ञवालीले बताए ।
जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको मनसून पूर्व तयारी तथा प्रतिकार्य योजनाका अनुसार, नेपालगन्ज उपमहानगरपालिकाको विपद् कोषमा १ करोड २८ लाख रूपैयाँ, कोहलपुर नगरपालिकाको कोषमा १३ लाख ८२ हजार, बैजनाथ गाउँपालिकाको कोषमा ८१ लाख १० हजार, जानकी गाउँपालिकाको कोषमा १२ लाख ५८ हजार, डुडुवा गाउँपालिकाको कोषमा १० लाख, राप्तीसोनारी गाउँपालिकाको कोषमा २ लाख ७३ हजार, नरैनापुर गाउँपालिकाको कोषमा ५ लाख रूपैयाँ रहेको छ ।
बाँकेमा विपद् पूर्वतयारीका लागि आवश्यक सामाग्री भण्डारण समेत गरेर राखिएको छ । उद्दारका लागि आठ स्थानीय तहमा १९ हेलिप्याड, १२ रबरबोट सहित आवश्यक जनशक्ति छन् ।




























