सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई जना कैदी हत्या प्रकरणका १५ जनालाई जन्मकैदको फैसला सुनवाई भएको छ ।
जिल्ला कारागारमा २०८० साउन २४ गते जिल्लाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट मृत्यु भएको थियो । कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर सुरुमा प्रहरीले र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गर्दा दुई कैदीको मृत्यु भएको अनुसन्धानबाट खुलेको थियो ।
दुई कैदी हत्या प्रकरणका सात प्रहरीसहित १५ जनाई जन्मकैदको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार उज्वल न्यौपानेले जानकारी दिनुभयो । न्यायाधीश राजकुमार कोइरालाको इजलासले मलुकी अपराध संहिता २०७४ को दफा १७१ (१) बमोजिम कसुरमा जन्मकैद पैmसला सुनाएको हो ।
त्यसैगरी सोही संहिताको १८६ बमोजिम प्रतिवादीबाट जनही ५० हजार मृतक तोलाङ्गी र बलामीका नजिकका हकदारलाई क्षतिपूर्ति भराउने ठहर गरेको अदालतका श्रेस्तेदार न्यौपानेले बताउनुभयो । कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर सुरुमा प्रहरीले र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गर्दा उनीहरूको मृत्यु भएको अनुसन्धानबाट खुलेको थियो ।
कैदीको कुटपिटपछि हत्या घटनाका आरोपित सात जना प्रहरीलाई धनकुटा र आठ जना कैदीलाई तेह्रथुम कारागार चलान गरेको थियो । कैदी हत्या घटनामा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो, सुरक्षा गार्ड नुसन राईलाई जन्मकैद पैmसला भएको छ ।
त्यसैगरी चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदीहरू मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरेलाई समेत जन्मकैद सजायको फैसला भएको अदालतका श्रेस्तादार न्यौपानेले जानकारी दिनुभयो । कैदीको कुटपिटपछि हत्या अभियोगमा जिल्ला कारागारका इञ्चार्ज असईसहित सात जना प्रहरी र आठ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको थियो । तत्कालीन जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले सात प्रहरीलाई धनकुटा र आठ कैदीलाई तेह्रथुम पठाउन आदेश भएको थियो ।




























