नेपालगन्ज पर्यटन परिषद्ले पर्यटन क्षेत्रको विकास र व्यवस्थापनसम्बन्धी आफ्नो नीति कार्यान्वयनलाई प्राथमिकतामा राख्दै प्रथम साधारणसभा तथा अधिवेशन गर्ने भएको छ । परिषद्ले यही असोज ११ गते साधारणसभा तथा प्रथम अधिवेशन आयोजना गरी त्यसपछि बाँकेको पर्यटन क्षेत्रलाई चलायमान बनाउने विभिन्न कार्यक्रम अघि बढाउने निर्णय गरेको हो ।
‘साधारणसभा र अधिवेशनमार्फत परिषद्को आगामी कार्यदिशा तय गर्ने तयारी छ,’ परिषद्का अध्यक्ष केशव न्यौपानेले दैनिक नेपालगन्जसँग भने, ‘पर्यटन व्यवस्थापन, प्रचार–प्रसार, बजार विस्तार र निजी क्षेत्रबीच समन्वयलाई प्रभावकारी बनाउने गरी कार्ययोजना अघि बढाइनेछ ।’ अध्यक्ष न्यौपानेका अनुसार, परिषद्ले तयार पारेका योजनालाई कार्यान्वयनमा लैजान साधारणसभालाई महत्वपूर्ण आधारका रूपमा लिएको छ ।
बाँकेमा पर्यटनको सम्भावना भए पनि त्यसको एकीकृत विकास र प्रवद्र्धनमा अपेक्षित काम हुन नसकेको परिषद्को निष्कर्ष छ । होटल, रेस्टुरेन्ट, ट्राभल तथा पर्यटन व्यवसायलाई एउटै छातामुनि जोडेर साझा पहल अघि बढाउने उद्देश्य परिषद्को छ । नेपालगन्जलाई पश्चिम नेपालको प्रमुख पर्यटन प्रवेशद्वार तथा पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने गरी परिषद्ले आफ्नो नीति अघि सारेको हो ।
परिषद्ले साधारणसभापछि पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । डब्लुटिएम नेपालगन्ज, फुड एन्ड बेभरेज तथा होटल एक्स्पो, म्यारिड डेस्टिनेसन र बि२बि कार्यक्रमलाई कार्ययोजनामा समेटिएको छ । यी कार्यक्रममार्फत पर्यटन व्यवसायको बजार विस्तारसँगै नेपालगन्ज र बाँकेको पर्यटन गतिविधिलाई थप चलायमान बनाउने लक्ष्य राखिएको जनाएको छ ।
‘पर्यटन प्रवद्र्धनको संस्थागत पहलका लागि नेपालगन्ज पर्यटन परिषद् दर्ता गरिएको छ,’ असोज ११ गते साधारणसभा गरि कार्ययोजनानै बनाएर प्रथम अधिवेशनमार्फत नयाँ र वैधानिक नेतृत्वले बाँके जिल्लालाई चलायमान गराउनको लागि पर्यटन प्रवद्र्धनका अभियान चलाउने जानकारी दिंदै महासचिव भीमलाल कंडेलले दैनिक नेपालगन्जसँग भने ।
उनका अनुसार, परिषद्को बैठकमा आगामी कार्यक्रमका कार्ययोजनासमेत प्रस्तुत भएका छन् । अधिवेशनका लागि ठाकिएको बैठकमा कार्ययोजनाबारे पनि छलफल भएको महासचिव कंडेलले बताए । ‘डब्लुटिएम नेपालगन्ज, फुड एन्ड बेभरेज तथा होटल एक्स्पो, म्यारिज डेस्टिनेसन र बिटूबि कार्यक्रम सञ्चालन गर्ने प्रस्तावमाथि छलफल भएको थियो,’ कंडेलले भने, ‘बैठकले ती कार्ययोजनालाई अधिवेशनमार्फत सर्वसम्मत रूपमा अघि बढाउने निर्णय गरेको छ ।’
परिषद्ले पर्यटन क्षेत्रको विकासका लागि सरकारी निकायसँग पनि समन्वय गर्नेछ । स्थानीय तह, नेपाल पर्यटन बोर्ड, निजी क्षेत्र, पर्यटन व्यवसायी, होटल तथा रेस्टुरेन्ट, ट्राभल एजेन्सी, एयरलाइन्स, यातायात व्यवसायी तथा अन्य सरोकारवाला संस्थासँग सहकार्य गर्ने योजना बनाइएको छ । ‘यो हाम्रो साझा र सशक्त संगठन हो,’ परिषद्का उपाध्यक्ष डिल्लीराज रेग्मीले भने ।
नेपालगन्ज तथा बाँकेमा पर्यटनको ठूलो सम्भावना रहेकाले त्यसलाई बजारसँग जोड्नुपर्ने आवश्यकता रहेको परिषद्को ठहर छ । प्रचार–प्रसारलाई व्यवस्थित गर्ने, पर्यटन बजार विस्तार गर्ने र निजी क्षेत्रबीच प्रभावकारी समन्वय कायम गर्ने कामलाई परिषद्ले आफ्नो प्रमुख जिम्मेवारीका रूपमा अघि बढाउने भएको छ ।
होटेल व्यवसायी संघ बाँके, होटल संघ बाँके र नाट्टा बाँकेको सहकार्यमा ‘नेपालगन्ज पर्यटन परिषद्’ स्थापना तथा प्रचलित कानुनबमोजिम दर्ता गर्ने निर्णय गरिएको हो । परिषद्लाई नेपालगन्ज र बाँकेको पर्यटन विकासका लागि साझा संस्थाका रूपमा अघि बढाउने योजना छ ।






























