बाँके प्रहरीले ‘हनी ट्रयाप’मा पारेर एक पुरुषलाई ब्ल्याकमेलिङ गर्दै नगद तथा जिन्सी सामान असुलेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–१०, सुकेधारामा कोठा भाडामा लिएर बस्दै आएकी ३० वर्षीया सविता श्रेष्ठ रहेकी छन्।
प्रहरीका अनुसार श्रेष्ठले बाँकेको बैजनाथ गाउँपालिका–२ बस्ने ३२ वर्षीय एक पुरुषलाई पूर्वयोजना बनाई माया–प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेकी थिइन्। त्यसपछि विभिन्न मुद्दामा फसाइदिने भन्दै डर, त्रास र धाकधम्की दिई पटक–पटक नगद तथा जिन्सी सामान लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले उक्त घटनालाई ‘हनी ट्रयाप’मार्फत आपराधिक लाभ लिने कार्यका रूपमा अनुसन्धान गरिरहेको जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा फरार रहेकी श्रेष्ठलाई २०८३ साल असोज ५ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
पक्राउ परेकी श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिएका छन्।






























