नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तरगत बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर २ को नेतृत्व चयनका लागि सोमवार मतदान भएको छ । पार्टी जिल्ला सभापति नारायण प्रसाद गौडेलका अनुसार, बाँकेका तीनमध्ये क्षेत्र नम्बर २ मा सोमवार मतदान भएको हो ।
‘अबेर रातीसम्म नतिजा आइसक्छ,’ मतगणनामा रहेका उपसभापति गोपाल अधिकारीले दैनिक नेपालगन्जसंग भने । यो क्षेत्रमा क्षेत्रीय सभापतिमा नरेन्द्रकुमार चौधरी (पप्पु) र बीरेन्द्रबहादुर शाहबीच रोचक प्रतिस्पर्धा देखिएको छ । ६ सयबढी मतदाताबीच उम्मेदवार चौधरीको मतदानस्थलमा दलबलसहित भिन्नै रौनक देखिन्थ्यो, अर्का उम्मेदवार शाह प्रायः एक्लै मतदातामाझ पुगिरहेका थिए । दुबै उम्मेदवारले प्यानल बनाएर मैदानमा उत्रिएका हुन् ।
पार्टी उपसभापति अधिकारी, सचिव सुधांशु कोइराला, निवर्तमान नगर सभापति रहेका, नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्ट, पूर्व उपप्रमुख उमा थापामगर लगायतका सबैजसो नेताहरु विभिन्न पदमा उम्मेदवार भएका कारण मतदानस्थलको रौनक निकै रोमाञ्चक थियो । उनीहरुले आफ्नो प्यानल बनाएर मतदानका लागि छुट्टाछुट्टै नमूना मतपत्र बनाएर मतदातामाझ सक्रिय थिए ।
क्षेत्रीय कार्यसमिति, प्रदेश सभा कार्यसमिति तथा केन्द्रिय महाधिवेशन र प्रदेश महाधिवेशन प्रतिनिधि निर्वाचित गर्न सोमबार मतदान भएको थियो । प्रतिनिधि सभा क्षेत्र नम्बर २ अन्तरगतको प्रदेश सभा क को सभापतिमा बेलबहादुर बोहरासहित पदाधिकारी तथा कार्यसमिति सदस्य र प्रदेश प्रतिनिधि निर्विरोध निर्वाचित भएका थिए ।
आफैपनि महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार जिल्ला पार्टी सभापति गौडेलका अनुसार, बाँके निर्वाचन क्षेत्र नम्बर १ र ३ मा भने आज मंगलवार मतदान हुँदैछ । त्यसका लागि सोमवार मनोनयन भएको छ । क्षेत्र नम्बर १ मा बर्तमान क्षेत्रीय सभापति पोषण केसी र कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण आचार्य प्यान बनाएरै भिड्दैछन् । क्षेत्र नम्बर ३ मा पनि ज्ञान बहादुर ओली र केशव शाह प्यानलसहित क्षेत्रीय सभापति पदमा प्रतिष्पर्धा गरिरहेका छन् ।






























