बाँकेमा लागूऔषध कारोबार तथा ओसारपसारविरुद्ध प्रहरीले चलाएको अभियानअन्तर्गत गत भदौ महिनामा २५ वटा मुद्दा दर्ता भएका छन् ।
ती मुद्दामा प्रहरीले ६१ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौंरका अनुसार भदौ महिनामा प्रहरीले विभिन्न प्रकारका लागूऔषध ठूलो परिमाणमा बरामद गरेको छ । प्रहरीको तथ्यांकअनुसार उक्त अवधिमा १ सय ४९ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर, १३ किलो ६४ ग्राम अफिम, ४३ हजार १ सय ९९ क्याप्सुल ट्रामाडोल, २७ ट्याब्लेट नाइट्राजेपाम, १ सय ४८ ग्राम चरेश र १ हजार ४ सय मिलिलिटर कोरेक्स बरामद भएको छ ।
जिल्लामा बरामद लागूऔषधको परिमाण हेर्दा ब्राउन सुगर, अफिम र ट्रामाडोल मुख्य रूपमा बरामद भएका छन् ।
प्रहरीले लागूऔषध नियन्त्रणका लागि जिल्लाका विभिन्न स्थानमा निगरानी तथा चेकजाँचलाई तीव्रता दिएको जनाएको छ । विशेषगरी नेपाल–भारत सीमा क्षेत्रबाट हुने लागूऔषधको ओसारपसार नियन्त्रणका लागि सीमा नाका तथा सम्भावित मार्गमा निगरानी बढाइएको प्रहरीको भनाइ छ ।






























