शैक्षिक उद्यमी तथा समाजसेवी विकास बहादुर सिंहले नेपालगन्जमा जेष्ठ नागरिक सम्मान अभियानकै रुपमा अगाडी बढाउने भएका छन् ।
शनिवार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० को मनिकापुरमा भव्य समारोहका बीच ज्येष्ठ नागरिक सम्मान तथा भेटघाट कार्यक्रम शुभारम्भ गर्दै सिंहले उक्त घोषणा गरेका हुन् ।
‘ज्येष्ठ नागरिक हाम्रो समाजको गौरव हो,’ समाजसेवी सिंहले नगरका २३ वटै वडामा उक्त सन्देश प्रवाह आवश्यक देखिएको धारणा राख्दै भने, ‘उहाँहरुको सम्मान नै हाम्रो संस्कृति हो भन्ने जानकारी पुस्तान्तरण आवश्यक भएकाले यो अभियान शुरु गरिएको हो ।’
कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका र ज्येष्ठ उमेर समूहका सबै नागरिकहरूलाई सम्मान गरिएको थियो । ‘कार्यक्रमको मुख्य उद्देश्य ज्येष्ठ नागरिकहरूसँग भलाकुसारी गर्ने, उहाँहरूको अनुभव र ज्ञानबाट नयाँ पुस्तालाई लाभान्वित गराउने र उहाँहरूको योगदानको कदर गर्नु हो,’ सिंहले भने ।
कार्यक्रममा बोल्दै मुख्य वक्ता ज्येष्ठ नागरिकहरू समाजका मार्गदर्शक भएको र उहाँहरूको सम्मान गर्नु सबैको कर्तव्य भएको कुरामा अभियन्ता सिंहले जोड दिए । सम्मानित भएका ज्येष्ठ नागरिकहरूले यस किसिमको कार्यक्रमले आफूहरूमा उत्साह र गौरवको अनुभूति गराएको बताए ।































