जुम्लाको हिमा गाउँपालिका–२ ओदीमा पुरानो जिआई पाइपजस्तो वस्तु काट्ने क्रममा विस्फोट हुँदा एक बालकसहित दुई जना घाइते भएका छन् । स्थानीय कमल थापाको घरमा पानीको धारा निर्माण गर्ने क्रममा ग्राइन्डरले पाइपजस्तो वस्तु काट्दा विस्फोट भएको हो ।
विस्फोटमा परी १४ वर्षीय बल रोकाया गम्भीर घाइते भएका छन् । उनको खुट्टामा गम्भीर चोट लागेको हिमा गाउँपालिका–२ का वडाध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए । घटनामा घरधनी कमल थापा पनि सामान्य घाइते भएका छन् ।
वडाध्यक्ष रोकायाका अनुसार उक्त वस्तुभित्र गोलीका छर्राजस्तो पदार्थ भरिएको हुनसक्ने आशंका गरिएको छ । विगतमा माओवादी द्वन्द्वका क्रममा उक्त स्थानमा विस्फोटक पदार्थ राखिएको हुनसक्ने उनको भनाइ छ । यद्यपि, विस्फोटको वास्तविक कारण भने पुष्टि हुन बाँकी छ ।
विस्फोटमा गम्भीर घाइते भएका बालक रोकायालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला ल्याइएको छ ।
घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरी टोली घटनास्थलमा पुगेको छ । प्रहरीले घटनास्थलको मुचुल्का तयार पार्नुका साथै विस्फोटको कारण र पाइपजस्तो वस्तुको प्रकृतिबारे आवश्यक अनुसन्धान अघि बढाएको छ ।






























