बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–८ टिटिरिया निवासी २८ वर्षीय सन्दीप चौधरी रहेका छन् । बाँके प्रहरीले दिएको जानकारीअनुसार कात्तिक बुधवार बिहान करिब ५ः३० बजे सोही स्थानका २९ वर्षीय श्यामकुमार थारुको किराना पसलको आँगनमा उनीहरूबीच विवाद भएको थियो ।
विवाद भइरहेका बेला मादक पदार्थ सेवन गरेका चौधरीले आफूसँग रहेको एयर पेस्तोल देखाएर थारुलाई मार्ने धम्की दिएको सूचना प्रहरीलाई प्राप्त भएको थियो ।
सूचनापछि प्रहरी चौकी रनियापुर दहवा र इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट एक थान एयर पेस्तोलसमेत बरामद गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।






























