नेपालगन्ज — बाँकेको जानकी गाउँपालिका–६ कपासीमा विद्युत् सर्ट भएर आगलागी हुँदा सातवटा घर पूर्णरूपमा जलेका छन् । आगलागीबाट अर्को एक घरको झ्यालमा समेत क्षति पुगेको छ ।
बुधबार दिउँसो करिब २ः२० बजे स्थानीय इद्दु खानको घरमा विद्युत् सर्ट भएर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
आगलागी नियन्त्रणका लागि कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाका दमकल परिचालन गरिएको थियो । दमकल र सुरक्षाकर्मीको प्रयासमा दिउँसो ४ बजे आगो पूर्णरूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
आगलागीबाट जानकी गाउँपालिका–६ कपासीका साबिर खान, इद्दु खान, फिरोज खान र जाबिर खानका खरले छाएका एकतले कच्ची घर पूर्णरूपमा जलेका छन् । त्यस्तै, जाबेद खान, सरनाम खान र सौरभ खानका टिनले छाएका एकतले कच्ची घर पनि पूर्णरूपमा जलेर नष्ट भएका छन् ।
आगलागीबाट महेश खानको पक्की घरको एउटा झ्यालमा समेत क्षति पुगेको छ । घटनामा मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।

आगलागीबाट भएको अन्य क्षतिको विवरण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।






























