बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया उद्योगमा आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। उद्योगभित्र रहेको फर्नेस आयलको ट्यांकीमा विद्युत् सर्ट सर्किट हुँदा बिहीबार राति करिब १ः३० बजे अचानक आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। उद्योगको फर्नेस आयल ट्यांकीको क्षमता २ लाख लिटर रहेको जनाइएको छ। आगलागीबाट ट्यांकी तथा अन्य संरचनामा क्षति पुगेको र प्रारम्भिक अनुमानअनुसार करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरी, उद्योगका कर्मचारी, स्थानीयवासी तथा दमकलको सहयोगमा करिब एक घण्टाको प्रयासपछि राति २ः३० बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






























