भारतको बिहार राज्यको सिवान जिल्लामा शुक्रबार साँझ पटाका बनाउने क्रममा भएको विस्फोटमा पति, पत्नी र छोरीसहित सात जनाको मृत्यु भएको छ।
विस्फोट यति शक्तिशाली थियो कि घरको ठूलो भाग भत्कियो र सडकमा भग्नावशेष पुग्यो, घटनास्थलमा शवका टुक्रा छरिएका थिए।
प्रारम्भिक अनुसन्धानले घरभित्र पटाका उत्पादनको अनुमति प्राप्त कारखाना सञ्चालनमा रहेको र त्यहीँ काम भइरहेको देखाएको छ।
काठमाडाैँ। भारतको बिहारस्थित सिवान जिल्लामा पटाका बनाउने क्रममा घरमा विस्फोट हुँदा पति–पत्नी र उनीहरूकी छोरीसहित सात जनाको मृत्यु भएको छ।
शुक्रबार साँझ सिवान जिल्लाको आलमपुर गाउँमा रहेको घरमा विस्फोट भएको दैनिक भास्करले समाचारमा उल्लेख गरेको छ। विस्फोटबाट घरको ठुलो भाग भत्किएको छ भने भग्नावशेष सडकसम्म पुगेको छ। घटनास्थलमा शवका टुक्रा छरिएका थिए।
यस्तै हिन्दुस्थान टाइम्सका अनुसार विस्फोट भएको घरमा पटाका उत्पादन गर्ने अनुमति प्राप्त कारखाना सञ्चालनमा थियो। प्रारम्भिक अनुसन्धानमा घरभित्र पटाका बनाउने काम भइरहेको खुलेको छ।
प्रहरीका अनुसार विस्फोट हुँदा घरमा परिवारका सदस्यसहित धेरै मानिस उपस्थित थिए। पटाका विस्फोट भएपछि त्यहाँ भण्डारण गरिएका अन्य पटाकामा समेत आगो सल्किएको थियो। त्यसपछि लगातार विस्फोट भएका थिए। करिब दुई घण्टासम्म बीचबीचमा विस्फोटको आवाज सुनिएको स्थानीयले बताएका छन्।
Shivam Cement
विस्फोटको तीव्रताका कारण घरको अर्को भागसमेत भत्किएर सडकमा खसेको थियो। घटनास्थलमा सिवानका जिल्ला अधिकारी विजय प्रकाश मीना र प्रहरी प्रमुख भरत सोनीसहितको टोली पुगेको थियो।
जिल्ला अधिकारी मीनाले विस्फोटमा मृत्यु भएकाहरूको शव क्षतविक्षत अवस्थामा फेला परेको बताएका छन्। शवका केही भाग छुट्टाछुट्टै अवस्थामा रहेकाले मृतकको पहिचान गर्न कठिनाइ भएको उनले बताए।
स्थानीयका अनुसार मोहम्मद अमिरुद्दिन मियाँको घरमा पटाका उत्पादन भइरहेको थियो। उनी पटाका कारोबारमा संलग्न व्यक्ति रहेको बताइएको छ।
विस्फोटपछि घरमा रहेका पटाका र अन्य सामग्रीमा आगो लाग्दा थप विस्फोट भएका थिए। घटनामा मृत्यु हुनेको संख्या सुरुमा चार रहेको बताइए पनि पछिल्लो विवरणअनुसार पति–पत्नी र छोरीसहित सात जनाको मृत्यु भएको समाचारमा उल्लेख छ।






























