शैयापुर टापुमा देखियो नयाँ आशा
नेपालगन्जमा पर्यटकलाई सेवा दिन दर्जनभन्दा बढी तारे होटल खुलेका छन् । तर, यहाँ आउने पाहुनालाई जिल्लाभित्रै घुमाउन सकिने नयाँ गन्तव्यको खोजी भने पर्याप्त हुन सकेको छैन ।
कर्णालीका पर्यटकीय क्षेत्र, कैलाश मानसरोवर यात्राको मार्ग, बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्ज पर्यटकका प्रमुख रोजाइ बनिरहेका बेला बाँकेकै राप्तीसोनारी गाउँपालिका–७, फत्तेपुरस्थित शैयापुर टापुले नयाँ पर्यटकीय गन्तव्यको सम्भावना देखाएको छ ।
प्राकृतिक सौन्दर्य, शान्त वातावरण र पदयात्राको अनुभव लिन चाहनेका लागि शैयापुर आकर्षक गन्तव्य बन्न सक्छ । यही सम्भावना पहिल्याउन नेपाल ट्रिपले यस साता हाइकिङ आयोजना गरेको थियो । पत्रकार र पर्यटन अभियन्तासहितको टोली शैयापुर पुगेर फर्किएको छ । भ्रमणपछि यस क्षेत्रलाई बाँकेको पर्यटनसँग जोड्न सकिने विषयले थप चर्चा पाएको छ ।
नेपाल ट्रिपका अध्यक्ष श्रीराम सिग्देल बाँकेमा पर्यटकीय सम्भावना भएका धेरै ठाउँ भए पनि तिनको पहिचान र प्रचारप्रसारमा राज्यका निकायको पर्याप्त ध्यान पुग्न नसकेको बताउँछन् । पर्यटन व्यवसायी र स्थानीय सरकारबाट पनि अपेक्षित चासो नदेखिएको उनको भनाइ छ । ‘यी र यस्ता सम्भावनायुक्त क्षेत्रको खोजीमा सरकारको ध्यान नै पुगेको देखिँदैन,’ दैनिक नेपालगन्जसँग पर्यटन अभियन्ता सिग्देल भन्छन्, ‘हामीले त्यसैका लागि यो साता शैयापुरको हाइकिङ गराएका हौं ।’
सिग्देलका अनुसार, फत्तेपुरस्थित भेलुनिया गाउँ हुँदै शैयापुर टापु पुग्न सकिन्छ । यहाँ पुग्न उकालो र ओरालो गरी कुल १० किलोमिटर पैदल हिँड्नुपर्छ। टापु चढ्न करिब पाँच किलोमिटर उकालो र फर्कन पाँच किलोमिटर ओरालो बाटो पार गर्नुपर्छ । यो यात्रा पूरा गर्न झन्डै साढे दुई घण्टा लाग्छ ।
नाट्टा बाँके च्याप्टरका संस्थापक अध्यक्ष सिग्देल भन्छन्, ‘नेपालगन्जको तुलनामा शैयापुरमा तापक्रम करिब पाँच डिग्री सेल्सियस कम रहेको स्थानीय अनुभव छ ।’ सहरको गर्मी र भीडभाडबाट टाढा शान्त वातावरणमा समय बिताउन चाहनेका लागि यहाँको चिसो हावापानी र प्राकृतिक दृश्य आकर्षण बन्न सक्छन् । उनका अनुसार, पदयात्रा, प्रकृति अवलोकन र नयाँ ठाउँको खोजीमा रुचि राख्ने पर्यटकलाई लक्षित गरेर यस क्षेत्रको प्रवद्र्धन गर्न सकिने देखिन्छ ।
शैयापुरलाई पर्यटकीय गन्तव्य बनाउन ठूलो संरचना निर्माण गर्नुभन्दा पहिले यसको प्राकृतिक स्वरूप जोगाउँदै आवश्यक आधारभूत सुविधा विकास गर्नुपर्ने देखिन्छ । पदमार्गको पहिचान, बाटोमा संकेत चिह्न, सरसफाइ, सुरक्षा र प्राथमिक उपचारको व्यवस्था महत्त्वपूर्ण हुन्छ । स्थानीय समुदायको सहभागितामा यस्ता काम अघि बढाउन सके पर्यटनको लाभ गाउँसम्म पु¥याउन सकिन्छ ।
त्यसो त बाँकेको पर्यटन सम्भावना शैयापुरमा मात्र सीमित छैन । नेपालगन्जको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानदेखि जिल्लाका वन क्षेत्र, नदी किनार र ग्रामीण बस्तीसमेत पर्यटनका आधार बन्न सक्छन् । यी क्षेत्रलाई पहिचान गरेर एउटै पर्यटन सञ्जालमा जोड्न सके जिल्लामा पर्यटकको बसाइ लम्ब्याउन र स्थानीय आर्थिक गतिविधि बढाउन सहयोग पुग्न सक्छ ।
नेपालगन्जको बागेश्वरी मन्दिर धार्मिक पर्यटकका लागि प्रमुख आकर्षण हो । पुरानो बजार, विभिन्न समुदायको संस्कृति, खानपान र ऐतिहासिक बस्तीले पनि सहरको पर्यटनलाई विविधता दिन सक्छन् । भारतसँगको सीमावर्ती अवस्थिति नेपालगन्जका लागि अर्को अवसर हो । यसलाई धार्मिक भ्रमण, सांस्कृतिक अनुभव र छोटो अवधिको घुमफिरसँग जोड्न सकिन्छ ।
त्यस्तै, बाँके राष्ट्रिय निकुञ्ज र नजिकै रहेको बर्दिया राष्ट्रिय निकुञ्जले वन्यजन्तु अवलोकन र प्रकृतिमा आधारित पर्यटनको सम्भावना प्रदान गर्छन् । राप्ती नदी तथा अन्य नदी प्रणालीसँग जोडिएका क्षेत्रलाई पनि प्रकृति अवलोकन र स्थानीय जीवनशैली बुझ्ने भ्रमणसँग जोड्न सकिन्छ । यस्ता क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्दा वन्यजन्तुको बासस्थान, नदीको सुरक्षा र स्थानीय समुदायको अधिकारलाई प्राथमिकता दिन आवश्यक छ । त्यसका लागि बाबा बर्फानी, सन्तानेश्वर जस्ता धार्मिक र पर्यावरणीय क्षेत्र छुटाउनै हुँदैन ।
शैयापुरजस्ता नयाँ गन्तव्यलाई नेपालगन्जका स्थापित पर्यटकीय आकर्षणसँग जोड्न सके जिल्लाको पर्यटन प्याकेज थप फराकिलो बन्न सक्छ । नेपालगन्ज आउने पर्यटकलाई बागेश्वरी मन्दिर र पुरानो बजारको भ्रमणसँगै शैयापुरमा पदयात्रा तथा निकुञ्ज क्षेत्रमा प्रकृति अवलोकनको अवसर दिन सकिन्छ । यसबाट पर्यटकलाई एउटै क्षेत्रमा सीमित नराखी जिल्लाका विभिन्न ठाउँसम्म पु¥याउन सकिने सम्भावना छ ।
नेपालगन्जमा होटल तथा आतिथ्य सेवाको विस्तारले पर्यटकलाई बसोबास र खानपानको सुविधा दिने क्षमता बढाएको छ । तर, होटलको संख्या बढ्नु मात्रै पर्यटन विकासको आधार होइन । पाहुनालाई कहाँ घुमाउने, के देखाउने र स्थानीय संस्कृति तथा उत्पादनसँग कसरी जोड्ने भन्ने विषयमा पनि योजना आवश्यक छ ।
यसका लागि होटल व्यवसायी, पर्यटन व्यवसायी, स्थानीय तह, पर्यटनसँग सम्बन्धित संघसंस्था र स्थानीय समुदायबीच सहकार्य हुनुपर्छ । ‘गाभर, सन्तानेश्वर, बाबा बर्फानी, शैयापुरजस्ता गन्तव्यको पहुँचमार्ग, पदमार्गको अवस्था, उपयुक्त मौसम, सञ्चार सुविधा, सुरक्षा र उद्धारसम्बन्धी जानकारी तयार गर्न आवश्यक छ,’ नेपालगन्ज पर्यटन परिषद्का अध्यक्ष केशव न्यौपाने भन्छन्, ‘यस्ता विवरण उपलब्ध भए पर्यटकलाई यात्रा योजना बनाउन सहज हुनेछ ।’ न्यौपानेले परिषद्मार्फत पर्यटन प्रवद्र्धनका गतिविधि गर्न आफुहरु सक्रिय रहेको बताए ।
‘स्थानीय बासिन्दालाई पदप्रदर्शक, स्थानीय परिकारका सेवाप्रदायक, होमस्टे सञ्चालक र स्थानीय उत्पादनका विक्रेताका रूपमा जोड्न सकिन्छ,’ परिषद् अध्यक्ष न्यौपाने भन्छन्, ‘यसले पर्यटकलाई नयाँ अनुभव दिनुका साथै स्थानीय रोजगारी र आम्दानीका अवसरसमेत बढाउन सक्छ ।’ तर, पूर्वाधार र सेवाको विकास गर्दा स्थानीय आवश्यकता तथा वातावरणीय क्षमताको मूल्यांकन गर्नुपर्छ कुरामा सम्बद्ध जानकारहरुको जोड छ ।
शैयापुर टापुको भ्रमणपछि सिग्देलले यसलाई बाँकेको पर्यटन विकासको नयाँ सम्भावना बोकेको क्षेत्रका रूपमा व्याख्या गरेका छन् । नेपाल ट्रिपले बाँकेमा यस्ता सम्भावनायुक्त ठाउँको खोजी, पहिचान र प्रचारप्रसारलाई नियमित रूपमा अघि बढाउने योजना बनाएको अध्यक्ष सिग्देलले बताए ।
सिग्देल भन्छन्, ‘नयाँ पर्यटकीय गन्तव्यको खोजी र प्रचारप्रसार सुरुवात मात्र हो ।’ सिग्देलले नियमित यसका लागि काम गरिरहने बताउँदै भने, ‘त्यसलाई व्यवस्थित रूपमा विकास गर्न स्थानीय तहले गन्तव्यको विवरण संकलन, पहुँचमार्गको अवस्था मूल्यांकन, आवश्यक पूर्वाधारको योजना र वातावरण संरक्षणमा काम गर्नुपर्छ ।’ ‘पर्यटन व्यवसायीले भ्रमण प्याकेज बनाउन सक्छन् भने सञ्चारमाध्यम र पर्यटन अभियन्ताले यस्ता ठाउँलाई पर्यटकमाझ चिनाउन भूमिका खेल्न सक्छन्,’ अभियन्ता सिग्देल भन्छन् ।
शैयापुरको सम्भावनालाई दीर्घकालीन पर्यटनसँग जोड्न थप अध्ययन र स्थानीयसँगको परामर्श पनि आवश्यक छ । प्राकृतिक सौन्दर्यलाई जोगाउँदै पर्यटनका गतिविधि सञ्चालन गर्न सके मात्रै यसको आकर्षण टिकाउ बन्न सक्छ । पूर्वाधार विकासका नाममा प्रकृतिमा क्षति पुग्ने अवस्था आउन दिनु हुँदैन ।
बाँकेको पर्यटन विकासका लागि टाढाका चर्चित गन्तव्यको प्रचारमा मात्र भर पर्नुपर्ने अवस्था छैन । जिल्लाभित्रै रहेका तर पर्याप्त पहिचान नपाएका ठाउँको खोजी र प्रवद्र्धन पनि उत्तिकै आवश्यक छ । शैयापुर टापुको भ्रमणले यही सम्भावनालाई फेरि अगाडि ल्याएको छ । ‘अब यसलाई प्रकृति संरक्षण, स्थानीय सहभागिता र आर्थिक अवसरसँग जोडिएको व्यवस्थित पर्यटकीय गन्तव्य बनाउने जिम्मेवारी सम्बन्धित निकाय र पर्यटन क्षेत्रका सरोकारवालाको काँधमा छ,’ नेपाल ट्रिपका अध्यक्ष सिग्देलले भने ।






























