नेपालगन्जको उकुसमुकुस भीडभाड, अफिसको डेस्कमा ल्यापटपको स्क्रिन ताकेर अनवरत काम गर्दागर्दै दिमागले चाहिँ चेतावनी दिइसकेको थियो ‘अब त अति भयो, एक दिनकै भए पनि कतै फरार हुनुपर्छ !’ तर, थाप्लामा बाँकी कामको चाङ्गले गर्दा झोला बोकेर हिँड्ने आँट पनि आएको थिएन । त्यही दोधारमा ल्यापटपमा नजर गाडिरहेको बेला एक्कासी टेबलमा फोन बज्यो, यसो हेरको त गाभर सामुदायिक होम स्टेका परिकल्पनाकार कृष्ण चौधरीको फोन रहेछ ।

‘सर, कता हुनुहुन्छ ? भोलि जङ्गल सफारी जाने हो, फुर्सद मिलाएर आउनुस् है !’ उनको उत्साहजनक प्रस्ताव सुन्नेबित्तिकै मनले भनिहाल्यो, ‘लौ, यो मौका चाहिँ छोड्नुहुँदैन !’
काम त थुप्रै थिए, तर मनलाई सम्झाएँ, ‘काम त भोलि पनि गर्न सकिन्छ, आज प्रकृतिको यो निम्तो टार्न मिल्दैन !’ दायाँबायाँ केही नसोची हुन्छ भनिहाले ।
अर्को दिन बिहानै मोटरसाइकलमा गाभरतर्फ हुइँकिएँ । बिहानको चिसो हावा छिचोल्दै जब गाभर भ्यालीको १ नम्बर होमस्टेमा पुगे, कृष्ण सर र अन्य साथीहरू मलाई नै पर्खिरहनुभएको रहेछ । हामी सबैजना जिपमा सवार भएर बाँके राष्ट्रिय निकुञ्जभित्र छिर्यौ । सहरको कर्कश हर्न र कोलाहल एकाएक हरायो; त्यसको सट्टा कानमा–चराचुरुङ्गीका सुमधुर सुसेली, रूखका पातहरूको आवाज गुन्जियो ।

सफारी अगाडि बढ्दै जाँदा हामीले जङ्गली जनावरका लागि बनाइएका कृत्रिम तालहरूको नजिकै पुगेर तिनको सुन्दर अवलोकन गर्यौ । त्यही प्राकृतिक वातावरणमा रमाइरहेका बेला भोकले पनि राम्रै सताइरहेको थियो । खोलाको किनारमा बसेर खाजा खाने कुरा भयो, जहाँ हामीले रैथाने थारू परिकार, तातोतातो ढिक्री र जिब्रोमै झुण्डिने स्वादको आलुको अचारको मज्जा लियौं । साँच्चै, खोलाको किनारमा बसेर खाजा खाँदै गर्दाको आनन्द बयान गरेरै सकिँदैन । अझ त्यो खाजा खाइसकेपछि खोलाको चिसो पानीमा पाइला डुबाएर पाएको प्राकृतिक फिश थेरापीले त ‘लौ न, अब यही बसिरहौं !’ जस्तो पो बनायो ।

त्यसपछि हामी जङ्गलको अझै भित्री भागमा छिर्यौं । त्यही जङ्गली जनावरहरूका लागि बनाइएको अर्को कृत्रिम पोखरी र रमणीय परिदृश्य निर पुगेर हामीले मिठासपूर्ण खाना पनि त्यही खायौं ।
यदि तपाईँ पनि मेरो जस्तै सहरको धपेडीबाट थकित हुनुहुन्छ र यस्तै रोमाञ्चक ब्रेक लिन चाहनुहुन्छ भने, अब ढिला नगर्नुहोस् । गाभर भ्यालीको यो जिप सफारीको आनन्द लिईहाल्नुस् । जहाँ तपाईँको समय र रुचीअनुसार आधा दिन वा एक दिने कस्टमाइज्ड सफारी प्याकेज उपलब्ध छ, साथमा नेचर गाइड, थ्रिलिङ जङ्गल ड्राइभ, बर्ड वाचिङ, होमस्टेको अर्गानिक खाना र थारू सांस्कृतिको अनुभव ।

सहरको यान्त्रिक धपेडीलाई अब अल्छी नगरी आजै पूर्णविराम दिनुहोस् । र, आफ्नो व्यस्त तालिकाबाट एक दिन चोरेर गाभर भ्याली र बाँके राष्ट्रिय निकुञ्जको यो बेजोड जङ्गल सफारी प्याकेजको मजा लिनुहोस् । मैले त यो सफारी प्याकेजको मजा लिइसके र, साथमा मज्जाका फोटोहरू पनि खिचें ।
































