‘अग्रगामी मोर्चा’ नेपालगन्जमा
संविधान संशोधन, संघीयताको प्रभावकारी कार्यान्वयन र सीमान्तकृत समुदायको अधिकारलाई मुख्य राजनीतिक एजेन्डा बनाएका नौ राजनीतिक दलको अग्रगामी मोर्चाले लुम्बिनी प्रदेशस्तरीय राजनीतिक अभियान अघि बढाएको छ । प्रदेशस्तरीय अगुवा कार्यकर्ता अभिमुखीकरण कार्यक्रमका लागि मोर्चामा आबद्ध दलका शीर्ष नेताहरू नेपालगन्ज आइपुगेका छन् । मोर्चाले आज आइतबार नेपालगन्जमा कार्यक्रम आयोजना गर्दैछ ।
मोर्चाले शनिबार भैरहवामा प्रदेशस्तरीय कार्यक्रम गरेको थियो । लुम्बिनीका अगुवा कार्यकर्तालाई राजनीतिक अभियान, मोर्चाको अवधारणा र साझा एजेन्डाबारे अभिमुखीकरण गर्ने उद्देश्यले दुई स्थानमा कार्यक्रम राखिएको हो । मोर्चा नेतृ, जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय कार्यकारिणी सदस्य अम्बिका काफ्लेले नेताहरू नेपालगन्ज आइसकेको जानकारी दिइन् । ‘शनिबार भैरहवामा र आइतबार नेपालगन्जमा लुम्बिनीस्तरीय कार्यक्रम राखिएको हो,’ उनले शनिवार साँझ दैनिक नेपालगन्जसँग भनिन्, ‘त्यसका लागि नेताहरू नेपालगन्ज आइसकेका छन् ।’
जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, खम्बुवान राष्ट्रिय मोर्चा र नेपाल जनमुक्ति पार्टी मिलेर गत साउनमा अग्रगामी मोर्चा गठन गरेका थिए । यी सबै दल प्रतिनिधिसभा बाहिर छन् । मधेश, थरूहट, दलित, उत्पीडित वर्ग तथा सीमान्तकृत समुदायको अधिकारका लागि क्रियाशील राजनीतिक शक्तिहरू एक ठाउँमा उभिएर देशको विद्यमान संकटलाई अग्रगामी निकास दिने उद्देश्यसहित मोर्चा बनाइएको नेताहरूको दाबी छ ।
मोर्चाले गठनसँगै २८ वटा उद्देश्य समेटिएको अवधारणापत्र गठनताकानै सार्वजनिक गरिसकेको छ । संविधानमा रहेका कमीकमजोरी र त्रुटिपूर्ण प्रावधान संशोधन, परिमार्जन वा पुनर्लेखन गर्नुपर्ने विषयलाई उसले प्रमुख राजनीतिक एजेन्डा बनाएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न संविधान परिष्कृत गर्नुपर्ने मोर्चाको धारणा छ । त्यसका लागि राजनीतिक स्थिरता, प्रतिनिधित्वको समानता, प्रदेश पुनर्संरचना, समानुपातिक प्रतिनिधित्व, समावेशी लोकतन्त्र र सामाजिक न्यायलाई बलियो बनाउनुपर्ने अवधारणापत्रमा उल्लेख छ ।
न्यायप्रणाली र निर्वाचन प्रणालीमा सुधार, शासकीय स्वरूप परिवर्तन तथा लोकतन्त्र, गणतन्त्र, संघीय प्रणाली, पहिचान, सामाजिक न्याय, समानता, मानव अधिकार र विधिको शासनलाई थप सुदृढ बनाउने विषय पनि मोर्चाका उद्देश्यमा समेटिएका छन् । राष्ट्रिय, जातीय, भाषिक, लैंगिक तथा सामाजिक–सांस्कृतिक समस्याको सम्बोधन गर्न संविधानमा रहेका त्रुटिपूर्ण प्रावधान संशोधन, परिमार्जन वा पुनर्लेखन गर्नुपर्ने मोर्चाको निष्कर्ष छ ।
मोर्चाले नेपालको संविधानमा संरचनात्मक त्रुटि, अस्पष्टता र कमजोरी रहेकाले संघीयता कार्यान्वयन जटिल तथा अव्यावहारिक बनेको ठहर गरेको छ। संविधान अधूरो र अपूर्ण रहेको तथा त्यसमा सबै पक्षको स्वामित्व स्थापित हुन नसकेको उसको विश्लेषण छ । संघीयता र प्रदेशको क्षेत्राधिकार स्पष्ट नहुनु, प्रादेशिक संरचना अव्यावहारिक हुनु र सीमांकनसम्बन्धी विवाद कायम रहनुलाई पनि संविधानका प्रमुख समस्याका रूपमा औंल्याइएको छ ।
लुम्बिनी प्रदेशसभा सदस्यसमेत रहेकी काफ्लेले मोर्चालाई संघीयताको संरक्षण र प्रभावकारी कार्यान्वयनका पक्षमा उभिएका राजनीतिक दलहरूको साझा मञ्चका रूपमा व्याख्या गरिन् । ‘यो संघीयताका संरक्षक दलहरूको मोर्चा हो,’ अभियानबारे जानकारी दिंदै उनले भनिन् ।
मोर्चाले संविधानका कमजोरीका कारण संघीयता कार्यान्वयनमा मात्रै समस्या नभई समावेशीकरण र न्याय प्रणालीसमेत कमजोर बनेको जनाएको छ । राजनीतिक अस्थिरता, सरकार गठनसम्बन्धी जटिल व्यवस्था र खर्चिलो निर्वाचन प्रणालीलाई पनि उसले संविधानका समस्याका रूपमा प्रस्तुत गरेको छ ।
राजनीतिक गतिविधिमा पनि साझा रणनीति अपनाउने मोर्चाको योजना छ । निर्वाचनमा आवश्यकताअनुसार साझा रणनीति र संयुक्त सहभागिता जनाउने सहमति दलहरूबीच भएको छ । आन्दोलन, जनसंघर्ष तथा जनजीविकासम्बन्धी अभियान पनि संयुक्त रूपमा सञ्चालन गरिनेछ । राष्ट्रिय महत्वका राजनीतिक, आर्थिक र सामाजिक मुद्दामा साझा धारणा बनाएर संयुक्त पहल गर्ने प्रतिबद्धता मोर्चाले जनाएको छ ।
मोर्चाले राष्ट्रिय, प्रादेशिक, जिल्ला तथा महानगर र उपमहानगरस्तरमा समिति गठन गर्ने नीति लिएको छ । युवा, महिला तथा बौद्धिक संगठनलाई समेत समेटेर छुट्टाछुट्टै मोर्चा निर्माण गरी परिचालन गर्न सकिने अवधारणापत्रमा उल्लेख छ ।
मोर्चाका जिल्ला नेता तथा जनता समाजवादी पार्टी नेपाल बाँकेका सचिव सूर्यलाल यादवका अनुसार उपेन्द्र यादव, सिके राउत, जनार्दन शर्मा र प्रभु साहलगायतका शीर्ष नेता शनिबार नै नेपालगन्ज आइपुगेका छन् । उनीहरूसहित मोर्चामा आबद्ध दलका नेताहरूले आइतबार हुने लुम्बिनी प्रदेशस्तरीय कार्यक्रममा अगुवा कार्यकर्तालाई अभिमुखीकरण गर्ने कार्यक्रम छ ।




























