अपाङ्गता भएका व्यक्ति तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका समुदायलाई लक्षित गर्दै नेपालगञ्जमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य परीक्षण तथा प्रजनन स्वास्थ्य सेवा कार्यक्रमबाट ७० जनाभन्दा बढी लाभान्वित भएका छन्।
राष्ट्रिय अपाङ्ग अल्बिनो नेपाल र नेपाल परिवार नियोजन संघको संयुक्त आयोजनामा आज राष्ट्रिय अपाङ्ग अल्बिनो नेपालको कार्यालय, नेपालगञ्जमा उक्त कार्यक्रम सम्पन्न भएको हो
कार्यक्रमबाट ७० जनाभन्दा बढीले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेको राष्ट्रिय अपाङ्ग अल्बिनो नेपालका संस्थापक तथा निर्देशक प्रखर गुप्ताले जानकारी दिनुभयो। उहाँले अपाङ्गता भएका व्यक्ति, महिला तथा स्वास्थ्य सेवाको सहज पहुँच नभएका समुदायलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
कार्यक्रममा सामान्य स्वास्थ्य परीक्षण, पाठेघर तथा प्रजनन स्वास्थ्य परीक्षण, रक्तचाप तथा मधुमेह परीक्षण, आवश्यक औषधि वितरण, परिवार नियोजनसम्बन्धी परामर्श तथा सेवा र अस्थायी गर्भनिरोधक साधनसहित इम्प्लान्ट सेवा प्रदान गरिएको थियो।
विशेषगरी अपाङ्गता भएका व्यक्तिहरूले स्वास्थ्य संस्थासम्म पुग्न र आवश्यक सेवा प्राप्त गर्न विभिन्न चुनौती सामना गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै सहज, समावेशी तथा अपाङ्गतामैत्री वातावरणमा सेवा उपलब्ध गराइएको आयोजकले जनाएको छ।
कार्यक्रमबारे बोल्दै राष्ट्रिय अपाङ्ग अल्बिनो नेपालका संस्थापक तथा निर्देशक गुप्ताले स्वास्थ्य सेवा सबै नागरिकको समान अधिकार भएको उल्लेख गर्दै अपाङ्गता भएका व्यक्तिहरूलाई पनि विभेदरहित, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो।
स्वास्थ्य सेवामा समान पहुँच र समावेशिताको सन्देश प्रवाह गरेको यस कार्यक्रमले लक्षित समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै आधारभूत तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच विस्तारमा समेत योगदान पुर्याएको छ।






























