तेस्रो नेपालगञ्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपको पहिलो दिनको प्रतिस्पर्धामा ललितपुरस्थित सगरमाथा स्वीमिङ क्लबले उत्कृष्ट प्रदर्शन गर्दै २४ स्वर्ण पदकसहित पदक तालिकामा शीर्ष स्थान हासिल गरेको छ।
नेपाल पौडी संघको प्राविधिक सहयोग तथा नेपालगञ्ज स्वीमिङ क्लबको आयोजनामा सञ्चालित प्रतियोगितामा पहिलो दिन ४० इभेन्टका खेल सम्पन्न भएका छन्। प्रतियोगिताका प्रमुख रेफ्री विष्णु खड्का क्षेत्रीका अनुसार नयाँ दिल्लीको इलाइट स्वीमिङ एकेडेमीले १० स्वर्ण जित्दै दोस्रो स्थानमा रहेको छ।
त्यस्तै, ललितपुरको रातो बंगला स्कुल र काठमाडौंको मपिल क्यानेडियन स्कुलले समान दुई–दुई स्वर्ण जितेका छन्। भारतको लखनउस्थित गल्स कलेज र शिखा एकेडेमी पनि पदक तालिकामा प्रतिस्पर्धामा रहेका छन्।
प्रतियोगितामा ८ वर्षमुनिदेखि १७ वर्षसम्मका उमेर समूह तथा १७ वर्षमाथिको खुला समूहका खेलाडीले सहभागिता जनाएका छन्। फ्रि स्टाइल, ब्रेस्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाई, रिले र व्यक्तिगत मेड्ले विधामा कुल ८० इभेन्ट समावेश गरिएको प्रतियोगितामा आइतबार थप ४० इभेन्टका खेल सञ्चालन हुनेछन्।
देशका सातै प्रदेशसहित भारतको नयाँ दिल्ली र लखनउबाट गरी करिब १५० खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन्।
नेपालगञ्जमा पौडी खेलको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको उद्घाटन शनिबार नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले गर्नुभएको थियो।
नेपालगञ्जका उद्योगी, व्यवसायी, चिकित्सक, इन्जिनियर, कानुन व्यवसायी, चार्टर्ड एकाउन्टेन्ट, सञ्चारकर्मी तथा नागरिक समाजका अगुवाहरूको पहलमा स्थापित नेपालगञ्ज स्वीमिङ क्लब लुम्बिनी प्रदेशकै पहिलो स्वीमिङ क्लबका रूपमा रहेको छ।






























