बर्दियाको बारबर्दिया नगरपालिकामा बाल संरक्षण सूचना व्यवस्थापन प्रणाली तथा केस रिपोर्टिङ प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको छ । बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार, शोषण तथा बालविवाजस्ता हानिकारक अभ्यासको पहिचान, अभिलेखीकरण र प्रतिवेदन प्रणालीलाई व्यवस्थित बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
बाँके युनेस्को क्लब, राधाकृष्ण थारू जनसेवा केन्द्र तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षित भविष्य परियोजनाअन्तर्गत कार्यक्रम आयोजना गरिएको थियो ।
नगर उपप्रमुख एवं नगरस्तरीय बाल अधिकार समितिका अध्यक्ष रत्नकुमारी पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख छविलाल थारू प्रमुख अतिथि थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विवेक भट्टराई, विभिन्न वडाका अध्यक्ष, विषयगत शाखा प्रमुख, नगरस्तरीय बाल अधिकार समितिका सदस्य, बाल क्लब तथा एल्मुनी क्लबका प्रतिनिधिसहित ३५ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख पाण्डेले बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार, शोषण तथा बालविवाहजस्ता हानिकारक अभ्यास अन्त्य गर्न स्थानीय सरकार, सुरक्षा निकाय, विद्यालय, समुदाय र सबै सरोकारवाला जिम्मेवार तथा सक्रिय हुनुपर्ने बताइन् ।
जोखिममा रहेका बालबालिकाको समयमै पहिचान, प्रभावकारी संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न केस रिपोर्टिङ प्रणालीको व्यवस्थित कार्यान्वयन आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा बाल संरक्षणसम्बन्धी घटनाको पहिचान, अभिलेखीकरण, प्रतिवेदन तथा केस व्यवस्थापन प्रक्रियाबारे सहभागीको क्षमता अभिवृद्धि गर्ने विषयमा छलफल गरिएको थियो । साथै बाल संरक्षण सूचना व्यवस्थापन तथा केस रिपोर्टिङ प्रणालीलाई प्रभावकारी, व्यवस्थित र संस्थागत बनाउने विषयमा जोड दिइएको थियो ।
कार्यक्रमको सहजीकरण युवराज पोख्रेलले गरेका थिए भने महिला तथा बालबालिका शाखा प्रमुख उषा पुनले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा बाँके युनेस्को क्लबका संरक्षण अधिकृत विजय शर्मा तथा फिल्ड सुपरभाइजर डम्मर परियारको पनि सहभागिता रहेको थियो ।
कार्यक्रमले बाल संरक्षणसम्बन्धी घटना पहिचान, प्रतिवेदन र व्यवस्थापन प्रक्रियाबारे सहभागीबीच साझा बुझाइ विकास गर्न सहयोग पुगेको आयोजकले जनाएको छ ।





























