छनोटमै व्यवस्थापनमाथि प्रश्न
सजल गैरे
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशको प्रतिनिधित्व गर्दै पदक जित्ने सपना बोकेर नेपालगन्ज रंगशाला पुगेका खेलाडीले छनोट प्रतियोगिताको सुरुवातमै व्यवस्थापकीय कमजोरी भोग्नुपरेको गुनासो गरेका छन् ।
खेलाडीका लागि तयार हुनुपर्ने रङ्गशालाको सरसफाइसमेत नभएपछि उनीहरू आफैँले खेलस्थल सफा गर्नुपरेको हो । पटक–पटक प्रतियोगिताको मिति परिवर्तन हुँदा खेलाडीको मनोबल खस्किएको र यसले छनोट प्रक्रियामै असर पारेको खेलाडी तथा प्रशिक्षकको भनाइ छ ।
लुम्बिनी प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुन विभिन्न जिल्लाबाट शुक्र वार नेपालगन्ज पुगेका खेलाडीले आवश्यक व्यवस्थापन र पूर्वतयारी नदेखिएको भन्दै असन्तुष्टि जनाए । दाङबाट बिहानै नेपालगन्ज आइपुगेका भारोत्तोलन खेलाडी रामकुमारी चौधरीले आफूहरू पुग्दासम्म रङ्गशालामा कुनै व्यवस्थापन नभएको बताइन् । खेलाडी आफैँले ढोका खोलेर आफ्नो टोलीसँग मिलेर सरसफाइ गर्नुपरेको उनको भनाइ छ ।
‘हामी एकाबिहानै दाङबाट नेपालगन्ज आइपुग्यौँ । हामी आउनुभन्दा अगाडि नै अफिसियल तथा कर्मचारी आएर यहाँको काम गर्नुपर्ने हो । तर हामी आफैँले आएर सरसफाइ गर्नुप¥यो । हामीलाई त्यत्तिकै बोलाएजस्तो लाग्यो । हामीमाथि मजाक भइरहेको अनुभूति भयो,’ उनले दैनिक नेपालगन्जसँग भनिन् ।
पूर्वप्रशिक्षक सन्तोष चौधरीले छनोट प्रतियोगिताका नाममा फाराम खुलाउने र खेलाडी सहभागी गराउने तर प्रतियोगिता स्थगित गर्ने तथा मिति परिवर्तन गर्ने प्रवृत्तिले खेलाडीको मेहनत खेर गएको बताए । पटक–पटक प्रतियोगिता सरेका कारण यसपटक राम्रा खेलाडीसमेत छनोटमा सहभागी हुन नआएको उनको भनाइ छ । उनका अनुसार, ३० जनाले फाराम भरेको जानकारी पाइएको थियो । दाङबाट पाँच पुरुष र पाँच महिला गरी १० खेलाडी नेपालगन्ज आएका छन् । कुल ३० जनामध्ये २० जना छनोट हुनेछन् ।
पौडी प्रशिक्षक चन्द्रराम चौधरीले भने नेपालगन्जमा विगतदेखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका पौडी प्रतियोगिता सञ्चालन हुँदै आएकाले यहाँ पौडी खेलाडीको पर्याप्त सम्भावना रहेको बताए । विभिन्न कारणले दर्ता भएका केही खेलाडी यसपटक सहभागी हुन नसकेको उनको भनाइ छ । उनका अनुसार, १२ पुरुष र आठ महिला गरी २० खेलाडी छनोट गर्नुपर्नेमा छनोट प्रक्रिया सम्पन्न भइसकेको छ ।
त्यस्तै, नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको अनुशासन समितिका प्रमुख होमबहादुर सुनारका अनुसार, बाँकेमा भएको छनोट प्रतियोगितामा करिब ४७ खेलाडी सहभागी भएका थिए । दुई विधामा भएको प्रतिस्पर्धाबाट बाँकेका लागि निर्धारित २४ जनाको कोटामध्ये २० जना छनोट गरिएको उनले जानकारी दिए । खेलकुदलाई पैसा कमाउने माध्यमका रूपमा मात्र बुझ्न नहुने उल्लेख गर्दै उनले स्वस्थ शरीर, स्वस्थ समाज र स्वस्थ जीवनका लागि खेलकुदमा सहभागी हुनुपर्ने सन्देश आफूहरूले खेलाडीलाई दिँदै आएको बताए ।
लुम्बिनी प्रदेश जुडो संघका अध्यक्ष विजयकुमार गुरुङले पनि छनोट प्रतियोगितामा खेलाडीले पाउनुपर्ने आवश्यक सुविधा उपलब्ध हुन नसकेको गुनासो गरे । प्रतियोगिता सञ्चालनका क्रममा विगतमा प्राप्त हुने सुविधासमेत अहिले नपाइएको उनको भनाइ छ ।
यता, प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशका सदस्य सचिव तिरणराज गौतमले आठौँ र नवौँ राष्ट्रिय खेलकुदको तुलनामा दशौँ राष्ट्रिय खेलकुदलाई थप व्यवस्थित बनाउने लक्ष्यसहित तयारी भइरहेको बताए । प्रदेशमा जिल्ला तहका खेलाडी छनोट प्रतियोगिता सुरु भइसकेको र कुनै खेलमा जिल्लागत रूपमा खेलाडी सङ्ख्या कम भएको अवस्थामा प्रदेशस्तरीय छनोट आयोजना गरिएको उनले जानकारी दिए । जिम्न्यास्टिकलगायतका खेलको छनोट प्रक्रिया पनि सञ्चालन भइरहेको उनको भनाइ छ ।
यसपटक नवौँ राष्ट्रिय खेलकुदको तुलनामा दशौँमा बढी पदक जितेर लुम्बिनी प्रदेशको नाम अगाडि ल्याउने लक्ष्य रहेको गौतमले बताए । यसअघि प्रतियोगिताको मिति पटक–पटक परिवर्तन हुँदा खेलाडीमा अन्योल र अविश्वास पैदा हुनु स्वाभाविक भएको उनले स्वीकार गरे । तर, अहिले प्रतियोगिताका खेल कुन मिति, कुन स्थान र कुन समयमा सञ्चालन गर्ने भन्ने टुङ्गो लागिसकेको र सम्पूर्ण तयारी पूरा भएको उनको दाबी छ ।
छनोट प्रतियोगिताबारे सामाजिक सञ्जाल, पत्रपत्रिका तथा राष्ट्रिय खेलकुद परिषद्मार्फत सूचना प्रवाह गरिएको उनले बताए । यद्यपि सूचना पहुँचभन्दा बाहिर रहेका वा प्रतियोगिता हुन्छ कि हुँदैन भन्ने अन्योलमा परेका केही खेलाडी फाराम भर्नबाट छुटेको हुन सक्ने उनको भनाइ छ । राम्रा खेलाडी छनोट प्रक्रियामा सहभागी भएको दाबी गर्दै गौतमले खेलाडीलाई खानपान, बसोबास र आवतजावत खर्च उपलब्ध गराइएको जानकारी दिए । प्रदेशस्तरीय छनोटमा परेका खेलाडीका लागि यातायातको व्यवस्थासमेत गरिएको उनले बताए ।
आठौँ राष्ट्रिय खेलकुदका क्रममा निर्माण भएका पूर्वाधारहरू क्रमशः प्रयोगमा आउन थालेको उल्लेख गर्दै उनले क्रिकेटजस्तै अन्य खेलले पनि विस्तारै व्यावसायिक तथा प्रतिस्पर्धात्मक भविष्य निर्माण गर्ने विश्वास व्यक्त गरे ।
नेपालगन्जमा खेलकुद पूर्वाधार भएर पनि आवश्यक सामग्री र स्रोतसाधनको अभावले प्रतियोगिता सञ्चालनमा समस्या भइरहेको साविक मध्यपश्चिम क्षेत्रीय विकास समितिका कार्यालय प्रमुख महेश चन्दले बताए । उनका अनुसार, सुटिङ प्रतियोगितासमेत नेपालगन्जमै सञ्चालन गर्ने तयारी भए पनि आवश्यक हतियार उपलब्ध नभएकाले अर्को दिनका लागि सार्नुपरेको छ । सरकारले भौतिक पूर्वाधार निर्माण गरे पनि त्यसअनुसार आवश्यक खेल सामग्री उपलब्ध गराउन नसकेको उनको भनाइ छ । सुटिङ प्रतियोगिताका लागि आवश्यक हतियार लिन शनिवार अन्तर्राष्ट्रिय खेलाडी नरेन्द्र थापासहितको टोली राजधानी काठमाडौ जाने बताइएको छ ।
खेलकुदलाई चलायमान बनाउन पूर्वाधार निर्माणसँगै आवश्यक सामग्री, प्रशिक्षक र उनीहरूको परिचालनमा समेत ध्यान दिनुपर्ने चन्दले बताए । बाँकेमा खेलाडी उत्पादन भइरहे पनि खेलकुदलाई नै पेसा बनाएर जीवनयापन गर्न कठिन रहेको उनको भनाइ छ । पर्याप्त रोजगारी र अवसर नहुँदा प्रतिभावान् खेलाडीसम्मले खेल जीवनलाई निरन्तरता दिन नसकेर विदेशिनुपर्ने अवस्था रहेको उनले बताए । क्रिकेटले पछिल्लो समय राम्रो सम्भावना देखाए पनि अन्य खेलको भविष्य निर्माणका लागि राज्यले खेलाडीलाई प्रोत्साहन र अवसर दिनुपर्ने उनको धारणा छ ।
दशौँ राष्ट्रिय खेलकुदका लागि खेलाडी छनोट प्रक्रिया अघि बढिरहँदा प्रदेश खेलकुद परिषद्ले सम्पूर्ण तयारी पूरा भएको दाबी गरिरहेको छ भने खेलाडीले खेलस्थलको आधारभूत व्यवस्थापनमै कमजोरी देखिएको बताइरहेका छन् । खेलाडीको मेहनत, समय र भविष्यसँग जोडिएको छनोट प्रतियोगितालाई व्यवस्थित र पारदर्शी बनाउन सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने देखिन्छ । प्रतियोगिता आयोजना गर्नु मात्र पर्याप्त हुँदैन, मैदानमा पुग्ने खेलाडीले आवश्यक सुविधा, सम्मान र प्रतिस्पर्धाका लागि सहज वातावरण पाउनु पनि उत्तिकै आवश्यक छ ।






























