पौडी खेल्ने क्रममा हुन सक्ने दुर्घटना न्यूनीकरण तथा आपत्कालीन अवस्थामा प्रभावकारी उद्धारका लागि नेपालगन्जमा पहिलो पटक आयोजित पाँचदिने लाइफगार्ड प्रशिक्षण शुक्रबार सकिएको छ ।
नेपालगन्ज स्वीमिङ क्लबले नेपाल पौडी संघको समन्वयमा व्यावसायिक पौडी पोखरीका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आयोजना गरेको प्रशिक्षणमा २१ जनाको सहभागिता थियो ।
प्रशिक्षण समापन कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज–१८ का वडाध्यक्ष दीपककुमार बर्माले प्रशिक्षणबाट प्राप्त ज्ञान र सीप समाजका लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।
क्लबका कार्यवाहक अध्यक्ष सूर्यमणि अधिकारीका अनुसार, पौडी पोखरीमा खेलाडी तथा अन्य व्यक्तिको सुरक्षा सुनिश्चित गर्न, डुब्ने जोखिममा रहेका व्यक्तिको समयमै उद्धार गर्न र दुर्घटनापछि प्राथमिक उपचार उपलब्ध गराउन लाइफगार्डको भूमिका महत्वपूर्ण हुन्छ । यही आवश्यकतालाई ध्यानमा राखेर प्रशिक्षण आयोजना गरिएको उनले बताए ।
क्लबका महासचिव कृष्ण अधिकारीका अनुसार, प्रशिक्षणमा यस क्षेत्रका विभिन्न तारे होटलका पौडी प्रशिक्षक, खेलाडी, सुरक्षाकर्मी तथा विद्यालयका पौडी प्रशिक्षक सहभागी थिए । पाँच दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा नेपाल पौडी संघका पाँच जना वरिष्ठ प्रशिक्षकले सहजीकरण गरेका थिए ।
प्रशिक्षणमा सहभागीलाई पौडी पोखरीको सुरक्षा व्यवस्थापन, पानीमा डुबिरहेका व्यक्तिको उद्धार, आपत्कालीन अवस्थाको सामना तथा आवश्यक प्राथमिक उपचारसम्बन्धी सीप प्रदान गरिएको प्रशिक्षकसमेत रहेका क्लब सदस्य चन्द्रराम चौधरीले बताए ।
क्लबका कोषाध्यक्ष ऋषिराम कँडेलले प्रशिक्षणले पौडी पोखरीमा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिम कम गर्नुका साथै दुर्घटना भइहालेमा तत्काल उद्धार र उपचारको व्यवस्था गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।
आयोजकका अनुसार, विशेषगरी होटल, विद्यालय तथा व्यावसायिक पौडी पोखरीमा लाइफगार्डको उपस्थितिले पौडी खेल्न आउने बालबालिका, किशोरकिशोरी तथा अन्य व्यक्तिको सुरक्षा सुनिश्चित गर्न मद्दत पुग्नेछ । प्रशिक्षणको अन्त्यमा सहभागीको सीप परीक्षणसमेत गरिएको छ । परीक्षणमा सफल प्रशिक्षार्थीलाई लाइफगार्डको इजाजतपत्र प्रदान गरिनेछ ।
समापन कार्यक्रममा क्लब संरक्षक, नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कमल कार्कीले यस क्षेत्रका पौडी पोखरीमा आवश्यक पर्ने दक्ष जनशक्तिको अभाव पूर्ति गर्न प्रशिक्षण उपयोगी हुने विश्वास व्यक्त गरे ।
क्लबका कार्यवाहक अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बर्मा, संघका वरिष्ठ उपाध्यक्ष कार्की, क्लबका सल्लाहकार झलक गैरे र संरक्षक राजीव तलंगालगायतले प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेका थिए । सोही अवसरमा नेपालगन्ज–१८ का वडाध्यक्ष बर्मालाई नेपालगन्ज स्वीमिङ क्लबका तर्फबाट सम्मानसमेत गरिएको थियो ।






























