अनलाइन माध्यमको दुरूपयोग गरी हुने ठगी बढ्दै गएको छ । बाँकेमा पनि अनलाइन ठगीका घटना बढ्दै गएको बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौंरले पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन माध्यमको दुरूपयोग गरी सर्वसाधारणलाई आर्थिक ठगी गर्ने प्रवृत्ति बढ्दै गएको बताएका छन् ।
‘फेसबुक, ह्वाट्सएप, टिकटक लगायतका सामाजिक सञ्जालमार्फत बैंक तथा वित्तीय संस्था र ई–सेवा, खल्ती जस्ता डिजिटल वालेटका कर्मचारी भएको बहाना बनाई सर्वसाधारणसँग ओटीपी (ओटीपी) तथा पासवर्ड माग्ने, आकर्षक रोजगारीको प्रलोभन देखाउने तथा अनलाइन सामान डेलिभरी र पार्सलका नाममा ठगी गर्ने गतिविधि बढिरहेको छ’, प्रहरी प्रवक्ता राठौरले भने, ‘ओटिपी माग्ने र पैसा खाताबाट निकालिदिने प्रवृत्ति देखिएको छ ।’ उनले त्यसखालको उजुरी प्रहरीमा आइरहेको जानकारी दिए ।
प्रहरीले बैंक तथा वित्तीय संस्थासम्बन्धी कुनै पनि सूचना प्राप्त भएमा सम्बन्धित संस्थामा प्रत्यक्ष सम्पर्क गरी आधिकारिक जानकारी लिएर मात्र बैंकिङ प्रणाली अद्यावधिक गर्न सुझाव दिएको छ । ‘अपरिचित व्यक्तिले पठाएका शङ्कास्पद लिङ्क नखोल्न र कसैले ओटीपी वा पासवर्ड मागेमा कुनै पनि हालतमा उपलब्ध नगराउनुस्’, राठौंरले भने । यसैगरी, अनावश्यक तथा अपरिचित एप्लिकेसन डाउनलोड गरी मोबाइलमा इन्स्टल नगर्न पनि प्रहरीले सचेत गराएको छ ।
अनलाइन कारोबार गर्दा विशेष सावधानी अपनाउन, व्यक्तिगत तथा वित्तीय विवरण गोप्य राख्न र सामाजिक सञ्जालमा आउने अविश्वसनीय सूचना तथा प्रलोभनमा नपर्न जिल्ला प्रहरी कार्यालय बाँकेले सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रविधिको बढ्दो प्रयोगसँगै अनलाइन ठगीका जोखिमसमेत बढ्दै गएकाले नागरिक स्वयं सचेत र सजग भएमा यस्ता आर्थिक अपराधबाट बच्न सकिने प्रहरी प्रवक्ता राठौंर बताउँछन् ।
बाँकेमा आर्थिक वर्षको २०८१÷०८२ मा ३ सय ९ साइबर अपराधसम्बन्धी उजुरी परेपनि घट्दै भने गएको छ । प्रहरीका अनुसार आव २०७९÷ ८० मा १ सय ६, आव २०७८÷७९ मा ५८ उजुरी साइबर अपराधसम्बन्धी परेका थिए । आर्थिक बर्ष २०८२÷०८३ मा १ सय ३१ उजुरी परेका थिए ।
नेपालमा गत आर्थिक वर्ष २०८२÷०८३ को साउनदेखि असार मसान्तसम्म साइबर अपराध सम्बन्धी २० हजार ५ सय २६ वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । सो अवधिमा साइबर अपराधमा १ सय ६१ वटा मुद्दा दर्ता भएका थिए भने १ सय ५५ जना पक्राउ परेका थिए । दर्ता भएका निवेदनमध्ये सामाजिक सञ्जालतर्फ फेसबुक÷म्यासेन्जरको दुरूपयोगका ७ हजार १२३ वटा, टिकटकका ६ हजार ७ सय ७६ वटा, ह्याट्सएपका ३ हजार १०५ वटा, टेलिग्रामका १ हजार ३१ वटा, इन्स्ट्राग्रामका ६ सय २८ वटा, इमेलका १ सय १४ वटा, भाइबरका २१ वटा, इमोका ३८ वटा, युट्यूवका ६४ वटा, वीईच्याटका १४ वटा, ट्वीटरका ११ वटा, गुगलका ११ वटा, इसेवा÷खल्ती÷ बैंक एकाउण्ट÷ एसएमसिएसका ७ सय ४४ वटा र संस्थातर्फ ८ सय ४६ वटा रहेका छन् ।
आर्थिक वर्ष २०८१÷०८२ मा १८ हजार ९२६ वटा र आर्थिक वर्ष २०८०÷०८१ मा १९ हजार ७३० वटा निवेदन प्रहरीमा दर्ता भएका थिए ।
प्रविधिको दुरूपयोगका कारण अपराधमा नयाँ शैली र प्रवृत्तिले अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण हुँदै गएको छ । यस्ता चुनौतीको सामना गर्दै वर्तमान र आगामी दिनमा प्रविधि प्रयोग भई घट्न सक्ने अपराधको रोकथाम तथा सफल अनुसन्धान गर्ने उद्देश्यले नेपाल सरकारको २०७५ जेठ २७ गतेको निर्णयले साइबर ब्यूरो स्थापना भएको हो ।
ब्यूरोलाई थप प्रविधियुक्त बनाउँदै प्रहरी कर्मचारीमा साइबर अपराध तथा सुरक्षा सम्बन्धी क्षमता अभिवृद्धिका साथै आम नागरिकहरू माझ साइबर सुरक्षा सम्बन्धी सचेतना फैलाउन विभिन्न कार्यक्रमहरू संचालन गरी प्रविधिको प्रयोग गरी हुने अपराध रोकथाम तथा अनुसन्धानको लागि नेपाल प्रहरी सक्रिय हुँदै आइरहेको छ । साइबर अपराधमा संलग्नलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा कारबाही हुने गरेको छ ।






























