छठ पर्व मनाउने व्रतालु र श्रद्धालुको सुविधालाई ध्यानमा राख्दै सरकारले पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि आइतबारका लागि मात्रै बिदा तोकिएकोमा गृह मन्त्रालयले शुक्रबार अर्को सूचना जारी गर्दै कात्तिक ३० गते सोमबारसमेत सार्वजनिक बिदा थप गरेको हो।
सरकारको यो निर्णयसँगै छठ पर्वका अवसरमा आइतबार र सोमबार लगातार दुई दिन सरकारी कार्यालय तथा सार्वजनिक निकाय बन्द रहने भएका छन्। मन्त्रालयले सार्वजनिक बिदासम्बन्धी सूचना जारी गर्दै सोमबारको बिदाबारे सम्बन्धित सबैलाई जानकारी गराएको छ।
छठ पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर सुरु गरिएको पूजाको विधि भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्रै पूरा हुने परम्परा छ। यही धार्मिक तथा सांस्कृतिक परम्परालाई मध्यनजर गर्दै सरकारले पर्वको दोस्रो दिन पनि सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ।
यसअघि सरकारले छठ पर्वको मुख्य दिन कात्तिक २९ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेको थियो। तर, पर्वको विधि र व्रतालुहरूको धार्मिक अनुष्ठान सोमबार बिहानसम्म जारी रहने भएकाले थप एक दिन बिदा दिने निर्णय गरिएको हो।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित सूचनामा कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिइएको उल्लेख छ। सूचनामा भनिएको छ, ‘कात्तिक ३० गते सोमबारका दिनसमेत सार्वजनिक बिदा दिइएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।’
यस निर्णयले छठ पर्वको समापनसम्म व्रतालु तथा श्रद्धालुलाई धार्मिक अनुष्ठानमा सहभागी हुन सहज हुने अपेक्षा गरिएको छ।





























