सजल गैरे
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपालगन्जमा सुरु भएको २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपको पहिलो दिन दुई राष्ट्रिय कीर्तिमान बनेका छन् । कोशी प्रदेशका विकास कुमल र गैरआवासीय नेपाली संघ (एनआरएनए) की लिली बोहराले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका हुन् ।
नेपालगन्ज रंगशाला परिसरमा रहेको पौडी पोखरीमा मंगलबार भएको पुरुष ५० मिटर ब्रेस्टस्ट्रोकमा विकासले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेका छन् । उनले निर्धारित दूरी ३०.६४ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे । यसअघि विकासकै नाममा सन् २०२६ मा आयोजित ११औँ एनएसए कप पौडी प्रतियोगितामा ३०.६६ सेकेन्डको कीर्तिमान थियो । उक्त स्पर्धामा नेपाली सेनाका जेडेन श्रेष्ठ ३१.१३ सेकेन्डसहित दोस्रो भए भने नेपाल पुलिस क्लबका एर्भिन श्रेष्ठले ३१.६० सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गरे ।
महिलातर्फ ४०० मिटर इन्डिभिजुअल मेडलेमा एनआरएनएकी लिली बोहराले अर्को राष्ट्रिय कीर्तिमान बनाइन् । उनले ५ मिनेट १७.०१ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन् । यसअघि सन् २०१६ मा भारतको गुहाटीमा भएको ११औँ दक्षिण एसियाली खेलकुदमा सोफिया शाहले ५ मिनेट ४८.५४ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।
सोफियाको उक्त कीर्तिमान प्रतियोगिताको हिट चरणमै लिली र नेपाल आर्मी क्लबकी दुआना लामाले तोडेका थिए । हिट चरणमा लिलीले ५ मिनेट २१.५२ सेकेन्ड र दुआनाले ५ मिनेट २५.१७ सेकेन्डमा दूरी पूरा गरेका थिए । अन्तिम प्रतिस्पर्धामा लिलीले आफ्नो समय थप सुधार गर्दै ५ मिनेट १७.०१ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भइन् । उक्त स्पर्धामा दुआनाले रजत र नेपाल पुलिस क्लबकी देवांशी जोशीले कांस्य पदक जितिन् ।
पहिलो दिन आठ व्यक्तिगत र तीन रिले गरी कुल ११ इभेन्टका प्रतिस्पर्धा सम्पन्न भए । व्यक्तिगत स्पर्धामा विभिन्न प्रदेश तथा क्लबका खेलाडीले पदक जित्दा रिलेमा बागमती प्रदेश र नेपाल आर्मी क्लबले स्वर्ण पदक हात पारे ।
पुरुष १५०० मिटर फ्रिस्टाइलमा नेपाल पुलिस क्लबका मयोन श्रेष्ठले स्वर्ण पदक जिते । सुदूरपश्चिमका अथर्व सिंह दोस्रो हुँदा नेपाल पुलिस क्लबकै रचित बुढाथोकी तेस्रो भए । महिला ५० मिटर ब्रेस्टस्ट्रोकमा नेपाल आर्मी क्लबकी दुआना लामाले स्वर्ण जितिन् । बागमती प्रदेशकी रोयल प्रजापति दोस्रो र प्रज्ञा ताम्राकार तेस्रो भए ।
पुरुष १०० मिटर फ्रिस्टाइलमा बागमती प्रदेशका अवीव प्रधानले स्वर्ण पदक जिते । नेपाल पुलिस क्लबका एर्भिन श्रेष्ठ दोस्रो र एल्विन महर्जन तेस्रो भए । महिला १०० मिटर फ्रिस्टाइलमा एनआरएनएकी मिका काया थापा पहिलो भइन् । नेपाल आर्मी क्लबकी दुआना लामा दोस्रो र एनआरएनएकी लिली बोहरा तेस्रो स्थानमा रहिन् ।
अवीवले पुरुष २०० मिटर ब्याकस्ट्रोकमा पनि स्वर्ण पदक जित्दै व्यक्तिगत स्पर्धामा दोहोरो सफलता हात पारे । उक्त स्पर्धामा सुदूरपश्चिमका अथर्व सिंह दोस्रो र बागमती प्रदेशका रेवान्त बहादुर श्रेष्ठ तेस्रो भए । महिला २०० मिटर ब्याकस्ट्रोकमा पनि एनआरएनएकी मिका काया थापा नै विजयी भइन् । नेपाल पुलिस क्लबकी देवांशी जोशी दोस्रो र बागमती प्रदेशकी आर्या महर्जन तेस्रो भइन् ।
रिले स्पर्धातर्फ पुरुष ४ गुणा १०० मिटर मेडलेमा नेपाल आर्मी क्लबले स्वर्ण पदक जित्यो । बागमती प्रदेश दोस्रो र नेपाल पुलिस क्लब तेस्रो भए । महिला ४ गुणा ५० मिटर फ्रिस्टाइल रिलेमा बागमती प्रदेशले स्वर्ण जित्दा नेपाल आर्मी क्लब दोस्रो र नेपाल पुलिस क्लब तेस्रो भए । मिश्रित ४ गुणा ५० मिटर फ्रिस्टाइल रिलेमा पनि बागमती प्रदेशले नै स्वर्ण पदक जित्यो । यसमा नेपाल आर्मी क्लबले रजत र नेपाल पुलिस क्लबले कांस्य पदक प्राप्त गरे ।
पहिलो दिन सम्पन्न ११ इभेन्टको नतिजाअनुसार बागमती प्रदेश पदक तालिकाको शीर्ष स्थानमा रह्यो । बागमतीले चार स्वर्ण, दुई रजत र तीन कांस्य गरी नौ पदक जितेको छ । तीन स्वर्ण र एक कांस्यसहित चार पदक प्राप्त गरेको एनआरएनए दोस्रो स्थानमा छ ।
नेपाल आर्मी क्लबले दुई स्वर्ण, पाँच रजत र एक कांस्य गरी आठ पदक जितेर तेस्रो स्थानमा रहँदा नेपाल पुलिस क्लबले एक स्वर्ण, दुई रजत र छ कांस्यसहित नौ पदक हात पारेको छ । कुल पदक संख्या नौ भए पनि स्वर्ण पदकका आधारमा पुलिस चौथो स्थानमा रहेको छ । कोशी प्रदेशले एक स्वर्ण जितेको छ भने सुदूरपश्चिम प्रदेशले दुई रजत पदक प्राप्त गरेको छ ।
प्रतियोगिताका प्राविधिक निर्देशक विष्णु खड्काका अनुसार च्याम्पियनसिपमा कुल ४६ स्पर्धा समावेश छन् । तीमध्ये ३४ व्यक्तिगत र १२ टिम स्पर्धा रहेका छन् । मंसिर ८ देखि ११ गतेसम्म चार दिन सञ्चालन हुने प्रतियोगितामा आगामी दिनमा पनि विभिन्न स्पर्धाका पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मंगलबारदेखि सुरु भएको च्याम्पियनसिपको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले गरेका थिए । नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष जगतमान श्रेष्ठको अध्यक्षतामा उद्घाटन समारोह भएको थियो ।
बर्दियामा टेनिस
प्रदीप र प्रणवको विजयी सुरुआत, अन्य खेलाडीको पनि प्रभावशाली प्रदर्शन
दैनिक नेपालगन्ज
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको पुरुष एकलतर्फ गण्डकी प्रदेशका प्रदीप खड्का र नेपाल आर्मीका प्रणव खनालले विजयी सुरुआत गरेका छन् । बर्दियाको गुलरियामा मंगलबार भएको प्रतिस्पर्धामा दुवै खेलाडीले आ–आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै अर्को चरणको यात्रा तय गरेका हुन् ।
प्रणवले नेपाल पुलिसका निहालजंग थापालाई तीन सेटको प्रतिस्पर्धामा हराए । पहिलो सेट ४–६ ले गुमाएका प्रणवले त्यसपछिका दुई सेटमा उत्कृष्ट पुनरागमन गरे । उनले दोस्रो सेट ६–३ र तेस्रो सेट ६–२ ले आफ्नो पक्षमा पार्दै खेल जिते ।
गण्डकीका प्रदीपले भने लुम्बिनीका मघेन्द्र गिरीलाई सोझो सेटमा पराजित गरे । उनले पहिलो सेट ६–० र दोस्रो सेट ६–२ ले जित्दै सहज सफलता हात पारे ।
पुरुष एकलतर्फकै अन्य खेलमा गण्डकीका करणबहादुर थापाले नेपाल पुलिसका दर्शिल श्रेष्ठलाई ६–३ र ७–५ को सेटमा पराजित गरे । बागमतीका निसान श्रेष्ठले एपीएफका सक्षमविक्रम शाहलाई ६–३ र ६–१ ले हराए ।
एनआरएनएका रेन्जेन लामाले सुदूरपश्चिमका रमेशसिंह दंगालाई ६–० र ६–० को सोझो सेटमा पराजित गरे । बागमतीका प्रितम परियारले एपीएफका देवासिश रेउलेलाई ६–० र ६–३ ले हराउँदै जित निकाले ।
त्यस्तै, एनआरएनएका असभसम्राट हाडाले लुम्बिनीका विवेक कुँवरलाई ६–० र ६–० को सेटमा पराजित गरे । नेपाल आर्मीका राजवीर प्रधानले पनि सुदूरपश्चिमका माधवसिंह विष्टलाई समान ६–० र ६–० को सेटमा हराए ।
प्रतियोगितामा लुम्बिनी, गण्डकी, बागमती, सुदूरपश्चिम, गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपाल पुलिस, नेपाली सेना र सशस्त्र प्रहरी बल (एपीएफ) गरी आठ टोलीका खेलाडी सहभागी छन् । प्रतियोगितामा ३४ पुरुष र १३ महिला गरी कुल ४७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
मंसिर १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात विधामा पदकका लागि प्रतिस्पर्धा भइरहेको छ ।






























