सजल गैरे
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको पौडी प्रतियोगिता आज मंगलवार देखि नेपालगन्जमा सुरु हुँदैछ । चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेश, विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) सहित ११ टोलीका करिब २०० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालगन्ज रंगशालास्थित नेपालगन्ज पौडी पोखरीमा हुने प्रतियोगितामा ४६ स्पर्धा समावेश गरिएका छन् । जसमा ३४ व्यक्तिगत र १२ टिम स्पर्धा रहनेछन् । प्रतियोगिता सञ्चालनका लागि खेलस्थलको सरसफाइ, रङरोगनलगायत आवश्यक पूर्वाधारको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
प्रतियोगितालाई व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न नेपाल पौडी संघ र नेपालगन्ज स्विमिङ क्लबले आपसी सहकार्यमा आवश्यक व्यवस्थापकीय तथा प्राविधिक तयारी पूरा गरेका हुन् । प्रतियोगिताको सञ्चालन, खेल व्यवस्थापन र प्राविधिक पक्षलाई प्रभावकारी बनाउन दुवै संस्थाले समन्वय गरिरहेका छन् ।
प्राविधिक निर्देशक विष्णु खड्काका अनुसार, यसपटक पौडी पोखरीमा अत्याधुनिक कोलोराडो टाइमिङ सिस्टमसहितको स्विमिङ टचप्याड जडान गरिएको छ । यसले खेलाडीले पूरा गरेको समयको मापनलाई थप सटीक र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ ।
प्रतियोगितालाई राष्ट्रिय स्तरमा पौडी खेलको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुका साथै प्रतिभावान खेलाडी पहिचान गर्ने अवसरका रूपमा लिइएको छ । प्रतियोगितामा पदक जित्ने खेलाडीले पाकिस्तानमा आयोजना हुने आगामी दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने नेपाल पौडी संघले जनाएको छ ।
नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले प्रतियोगिता सफल बनाउन सहयोग र समन्वय गर्ने प्रदेश खेलकुद संघ, विभागीय टोली, एनआरएनए, खेलाडी, प्रशिक्षक, निर्णायक तथा सरोकारवाला निकायप्रति आभार व्यक्त गरेका छन् । पौडीका लागि खेलाडीहरु नेपालगन्ज आइसकेका छन् ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपालगन्जमा पौडीसँगै सुटिङ प्रतियोगिता पनि सञ्चालन हुँदैछ । राष्ट्रिय खेलकुद परिषद्का अनुसार, बाँके र बर्दियामा दुई–दुई खेल सञ्चालन गरिनेछ । केही खेल यही मङ्सिर ८ गतेदेखि सुरु हुने भए पनि प्रतियोगिताको औपचारिक समुद्घाटन भने यही मङ्सिर १६ गते गरिने छ । २७ गतेसम्म सञ्चालन हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ खेलमा प्रतिष्पर्धा हुँदैछन् ।
राष्ट्रिय खेलकुद परिषद्ले सार्वजनिक गरेको विवरणमा एथ्लेटिक्स, महिला र पुरुष क्रिकेट, ह्यान्डबल, बास्केटबल, रग्बी, सेपकताक्रो, हक्की, भलिबल, कबड्डी सुर्खेतमा सञ्चालन हुने उल्लेख छ ।
त्यस्तै, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबुल टेनिस, उसु, तेक्वान्दो, जिम्न्याष्टिक, बक्सिङ, स्क्वास, आर्चरी, भारत्तोलन, साइक्लिङ, इस्पोर्टस् पनि सुर्खेतकै विभिन्न स्थानमा सञ्चालन हुनेछ । टेनिस, महिला तथा पुरुष खो–खो (बर्दिया), पौडी र सुटिङ (नेपालगञ्ज) हुनेछ ।
त्यस्तै, जुडो र कुस्ती (सल्यान), आइटिएफ तेक्वान्दो (दैलेख), महिला तथा पुरुष फुटबलको सेमी र फाइनल खेल (जुम्ला(, बुद्धिचाल (कालीकोट), शारीरिक सुगठन (पश्चिम रुकुम)मा हुनेछ ।
सुर्खेतमा २२, सल्यानमा दुई, जुम्ला, कालीकोट, दैलेख र रुकुमपश्चिममा एक–एक खेल हुनेछन् । प्रतियोगितामा ६ हजार खेलाडी र तीन हजार अफिसियल्स गरी करिब नौ हजारको सहभागिता रहने आयोजकले जनाएको छ ।






























