सामूहिक गिरफ्तारी माग्दै धर्ना
सरकारको प्रेसविरोधी कार्यको विरोधमा बाँकेका पत्रकारले सामूहिक गिरफ्तारीको माग गर्दै बुधवार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघको केन्द्रीय सर्कुलरअनुसार महासंघ बाँके शाखाको अगुवाइमा बुधबार बिहान पत्रकारले प्रशासन कार्यालयको मूलगेटमा धर्ना दिएका हुन् ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेका गतिविधिको विरोधस्वरूप आयोजित धर्नामा पत्रकारले सामूहिक गिरफ्तारीको माग अघि सारेका थिए । महासंघले देशव्यापी रूपमा अघि सारेको विरोध कार्यक्रमअन्तर्गत बाँकेका पत्रकार पनि आन्दोलनमा सहभागी भएका हुन् ।
धर्नालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं र बाँके शाखा अध्यक्ष नवीन गिरीले वर्तमान अवस्थामा सञ्चारमाध्यम र पत्रकारमाथि निर्मम व्यवहार भइरहेको भन्दै त्यसविरुद्ध आन्दोलनमा उत्रिनुपरेको बताए । उनीहरूले पत्रकार तथा सञ्चारमाध्यममाथि भइरहेको व्यवहारप्रति असन्तुष्टि जनाउँदै सामूहिक गिरफ्तारीको मागसहित विरोध प्रदर्शन गरिएको उल्लेख गरे ।
धर्नामा नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य झलक गैरे, बाँके शाखाका पूर्वअध्यक्षद्वय निरजकुमार गौतम र रुद्र सुवेदीेसहित महासंघका वर्तमान तथा पूर्वपदाधिकारी सहभागी थिए । विभिन्न आस्थागत संगठनका अध्यक्ष तथा प्रतिनिधि र जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारको पनि उपस्थिति थियो ।
नेपाल पत्रकार महासंघको केन्द्रीय सर्कुलरअनुसार बुधबार बाँकेसहित देशभरका पत्रकारले जिल्ला प्रशासन कार्यालयमा सामूहिक गिरफ्तारीको माग गर्दै धर्ना दिएका हुन् ।






























