नेपालगन्ज उपमहानगरपालिकाले हनुमान गढी परिसरमा रहेको तलाउमा स्थापना गर्न लागेको हनुमानको मूर्ति डिजाइन तयार भएको छ । नेपाली मूर्तिकारले १०८ सेमीको हनुमान मूर्ति डिजाइनलाई ‘डेमो’ तयार गरेका हुन् ।
‘१०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भएको घोषणा गर्न पाउँदा हामी हर्षित भएका छौं,’ उपमहानगरका इन्जिनियर सुरज शर्माले नेपाल, भारत र बाहिरका समृद्ध सांस्कृतिक सम्पदाको प्रतिनिधित्व गर्ने गरि तयार भएको हनुमान मूर्ति धार्मिक पर्यटनको लागि प्रतिष्ठित प्रतीक बन्ने विश्वास व्यक्त गर्दै भने ।
‘भव्य हनुमान मूर्तिको डेमो सफलतापूर्वक निर्माण गरी हनुमानगढीमा ल्याइएको’ जानकारी दिंदै इन्जिनियर शर्माले त्यसैका आधारमा अब मूर्ति निर्माणका लागि कालिगढहरु सक्रिय हुने बताए । ‘फाउण्डेसन तयार भइसकेको छ, अब मूर्तिकारको डेमोका आधारमा १०८ फिटको भव्य मूर्ति निर्माणकार्य अगाडी बढ्नेछ,’ इन्जिनियर शर्माले दैनिक नेपालगन्जसँग भने, ‘यसलाई देश विदेशसम्म प्रचार प्रसार गर्न सके धार्मिक पर्यटनको केन्द्रका रुपमा बागेश्वरी मन्दिरसँगै हनुमानगढीको विकास हुनेमा विश्वस्त छौं ।’
झण्डै ११ करोड बजेटमा निर्माण भइरहेको हनुमान मूर्तिलाई नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आफ्नो ‘ड्रीम प्रोजेक्ट’ का रुपमा अगाडी बढाएका छन् ।
यससँगै प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा रहेको तलाउमा रहेको जुंगे महादेवको मन्दिर र त्यहाँ पुग्ने पुल पुनःनिर्माण पनि भइरहेको छ । ‘नेपालगन्ज धार्मिक पर्यटनको केन्द्र बन्न सक्छ,’ नगर प्रमुख विष्टले विस्तार भइरहेका पूर्वाधार र धार्मिक केन्द्रका संरचनाहरुबारे भन्छन् ।