१. बुधबार स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोनेसँगको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न स्वीट्जरल्याण्ड सरकारलाई आग्रह गरेका छन् ।
२. राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साउन ९ गते नै राजीनामा बुझाएका थिए ।
३. अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन् । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको थियो ।
४. सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद् भवन पटकपटक म्याद थप्दा पनि अधुरै छ । ३ वर्षभित्र सक्ने गरी ठेक्का सम्झौता भए पनि ५ वर्ष पुग्दासमेत निर्माण सम्पन्न हुन सकेको छैन । यसबीचमा ४ पटक म्याद थप भइसकेको छ, तर प्रगति ८१ प्रतिशत मात्र छ ।
५. गृहमन्त्री रमेश लेखकले प्रहरीको सरुवालाई सरुवाकै रुपमा बुझ्न आग्रह गरेका छन् । साथै उनले प्रहरी प्रशासन कसैलाई जोगाउन वा नजोगाउन दुरुपयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरे । प्रतिनिधिसभाको बधुबार बसेको सुशासन समितिको बैठकमा केही सांसदले प्रहरी सरुवाबारे प्रश्न उठाएका थिए ।
६. नेपाली सेनाको कायममुकायम (कामु) प्रधानसेनापतिको जिम्मेवारी वरिष्ठ रथी अशोकराज सिग्देलले पाएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
७. पछिल्लो एक वर्षको अवधिमा व्यक्ति स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या ६ लाखभन्दा माथि रहेको पाइएको छ ।
अर्थ मन्त्रालयका अनुसार आव २०८०÷८१ मा ६ लाख १७ हजार ७८१ जनाले व्यक्तिगत प्यान लिएका छन् ।
८. सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । बुधबार प्रदेश सभा सचिवालयलाई पत्र पठाएर मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बैठक व्यवस्थापन पनि गरिदिन आग्रह गरेका छन् ।